
गाउँ बदलियो, नगर बदलियो, जनप्रतिनिधि ज्युको जीवनशैली बदलियो तर मेरो पानी बोक्ने दिन बदलिएन (: कठैबरा,यस्तो मेरो जिवन:)



मेरो गाउँलाई साबिकको ग्वाल्लेक गाविस भनी चिनिन्थ्यो तर अहिले आएर दशरथ चन्द नगरपालिका वडा नम्बर ९ ग्वाल्लेक भनेर चिनिन्छ। स्थानीय सरकार आएसँगै हाम्रो गाविसलाई पनि दशरथ चन्द नगरपालिकामा गाभियो। यसरी यहाँका स्थानीय बासिन्दा पनि नगरकाबासिन्दा भयौं भनी खुसी भएका थियाैं। स्थानीय निकाय विघटन भएको २० वर्षपछि २०७४ मा स्थानीय चुनाव भयो। चुनावलाई पहिलाेपटक देखेको र त्यति बुझ्न नसके पनि स्थानीय शब्दले मनमा हर्ष र आनन्द छाएको थियो। स्थानीय सरकार आएपछि स्थानीय समस्याहरु समाधान हुन्छ्न् भनी गाउँका अग्रज व्यक्तिहरुले गरेका कुरा म पनि ध्यान दिएर सुन्थें।

अब त मेरा पनि पानी बोक्ने दिनहरु बदलिन्छ्न्। अब त मलाई पनि पढ्ने समय मिल्छ भनी खुशी भएकी थिएँ। खुशी पनि किन नहुनु? स्कुलको समय बाहेक अरु समय पानी बोकेर खर्चनु पर्थ्यो। सबै साथीहरु बिहान उठेर लेखपढ गरी खाजा खाएर समयमै स्कुल पुगिसकेका हुन्थे तर म भने पानी बोकेर स्कुल जानु पर्थ्यो। धारामा पनि पानीको लागि पालो कुर्नु पर्थ्यो। बल्लतल्ल पानी बोकेर घरमा पुग्दा स्कुल जाने समय भइसकेको हुन्थ्यो। कुनै दिन किताब, कुनै दिन कापी त कुनै दिन कलम घरमै छुटेको हुन्थ्यो। स्कुलको घण्टी लाग्ने समय घरमै छँदा भइसकेको हुन्थ्यो। स्कुल जाने बाटो पनि धेरै अप्ठ्यारो थियो। धेरै दाैडनु पर्थ्यो। धेरै ठाउँमा लडेर बल्लतल्ल स्कुलमा पुगिन्थ्यो। स्कुलमा पुग्दा प्रार्थना भइसकेको हुन्थ्यो। स्कुलको प्रशासन धेरै कडा भएको कारणले कुनै दिन सजाय पाएपछि मात्र कक्षामा बस्न पाइन्थ्यो भने कुनै दिन त्यत्तिकै घर फर्केर आउनु पर्थ्यो।


ग्वाल्लेक भनेको प्रयाप्त मात्रामा पानी भएको ठाउँ हो। ग्वाल्लेकको पानी बैतडीको दशरथ चन्द नगरपालिकाको वडा नम्बर २,४,५ र ८ का प्रत्येक टाेलमा पुगेको छ तर हामी ग्वाल्लेक बासीकाे दिन भने दिनहुँ पानी बोकेरै बित्छ्न्। ग्वाल्लेक बासीका दिनहरु कहिले फेरिएलान्? सबैलाई समान ठान्ने नेतृत्व कहिले आउला? स्थानीय सरकार आएको पनि ५ वर्ष भयाे हाम्रो आधारभूत समस्या समाधान गर्न अझै कति वर्ष कुर्नु पर्ला? सांसद सम्म जन्माएको ग्वाल्लेकको भूमिका हामी साना ठूला सबै विद्यार्थीहरूले कहिलेसम्म यस्ता दुखहरु झेली रहनुपर्ने हाेला? स्कुल जाने हाम्रा सानासाना नानी बाबुले कहिलेसम्म पानीका जर्किन बोक्नु पर्ने होला? २ लिटर बाट शुरु भएको जर्किनको यात्रा ३० लिटर सम्म पुग्यो।
गाउँ बदलियो, नगर बदलियो, जनप्रतिनिधि ज्युको जीवनशैली बदलियो तर मेरो पानी बोक्ने दिन बदलिएन
पसुपती जोशी (पुजा)



