



बैतडी: बैशाख २६ बैतडीको डिलाशैनीमा गठबन्धनका उम्मेदवार र उनका कार्यकर्ताहरुले क्याम्पस प्राध्यापकमाथी कुटपिट गरेका छन् । गठबन्धनबाट पालिका अध्यक्षका उम्मेदवार लोकेन्द्र राना सितल र उनका कार्यकर्ताले स्वतन्त्र उम्मेदवारका लागि चुनाव प्रचार गरेको भन्दै पुर्चाैडी बहुमुखी क्याम्पसका प्राध्यापक समेत रहेका डिलासैनी ५ बिनाबस्तीका रामदत्त जोशीमाथी निर्घात कुटपिट गरेका हुन् । जोशीको दुबै खुट्टामा गम्भिर चोट लागेको राम दत्त जोशीका भाई दिपक राज जोशीले जानकारी दिए ।
माओवादी केन्द्रका नेता एवं पालिका अध्यक्षका उम्मेदवार समेत रहेका लोकेन्द्र राना सितल र उनका कार्यकर्ताले खेतमै गएर कुटपिट गरेको उनले बताए । डिलाशैनी गाउँपालिकामा नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन छ । माओवादी केन्द्रका नेता लोकेन्द्र राना सितल गठबन्धनबाटै गाउँपालिका अध्यक्षका उम्मेदवार हुन् ।
कुटपिटको घटनामा संलग्न पाकिला अध्यक्षका उम्मेदवार राना र घाईतेपक्षबिच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता लोकेन्द्र जोशीले जानकारी दिए । कुटपिटबाट रामदत्त जोशी घाईते भएको र कुटपिटमा संलग्न रानालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको उनले बताए ।




