


बैतडी:नेपाली कांग्रेस सुदूरपश्चिमले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ बैतडीबाट सिफारिसमा नपरेका दुई नेताको नाम पनि केन्द्रमा सिफारिस गरेको छ ।
प्रदेश कार्यसमितिले जिल्ला कार्यसमिति बैतडीको सिफारिसमा नपरेका नेताहरू उत्तरबहादुर ऐर र तेजबहादुर चन्दको नाम केन्द्रीय कार्यसमिति समक्ष सिफारिस गरेको हो ।

जिल्लामा अवैधानिक ढंगले आकांक्षी छनोट गरिएको भन्दै दुई जनाले प्रदेश कार्यालयमा निवेदन दिनुभएको थियो,’ प्रदेश प्रवक्ता सुरतबहादुर रावतले भने, ‘हामीले त्यो निवेदनसहित उहाँहरूको नाम केन्द्रीय कार्यालयमा पठाइदिएका हौं ।नेताद्वय ऐर र चन्दसहित पाँच जना आकांक्षीहरूले २० मंसिरमा विज्ञप्ति जारी गरेर जिल्ला सभापति चतुरबहादुर चन्द पक्षीय नेताहरूले एकलौटी गरेको आरोप लगाएका थिए ।
दाबेदारहरू बीच सहमति जुटाउने प्रयास चलिरहेकै समयमा हठात् रुपले पार्टी सभापति पक्षले नेपाली कांग्रेसकोे परम्परा तोड्दै निर्वाचनको प्रपञ्च गरेकोप्रति हाम्रो गम्भीर असहमति रहेको छ,’ विज्ञप्तिमा भनिएको थियो ।लोकतन्त्र र पार्टी संगठनलाई मजबुत बनाउन छलफल र सहमतिको प्रक्रियाबाटै उम्मेदवारहरूको नामावली टुङ्गो लगाउनु पर्ने उनीहरूको भनाइ थियो ।
तर, जिल्ला कार्यसमितिले चुनावी प्रक्रियामार्फत् उम्मेदवारहरूको नाम टुंगो लगाएको थियो ।
प्रदेश कार्यसमितिका अनुसार जिल्लाले बैतडीबाट प्रत्यक्षतर्फ सभापति चतुरबहादुर चन्दसँगै विष्णुदत्त जोशी र जानकी भट्टको नाम सिफारिस गरेको थियो।




