


बैतडी:बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द प्रमुख प्रशासकीय अधिकृतको खोजीमा एक महिनादेखि सिंहदरबारमा धाइरहेका छन्। ‘जेन-जी’ सरकार आएपछि प्रमुख प्रशासकीय अधिकृत सरूवा हुँदा अध्यक्ष चन्दले एक महिनादेखि दुःख पाएका हुन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मनमौजी तरिकाले प्रमुख प्रशासकीय अधिकृत सरूवा गरिदिएपछि पञ्चेश्वर गाउँपालिकाको काम ठप्प छ। गाउँपालिकाको काम सुचारू गर्न अध्यक्ष चन्द प्रमुख प्रशासकीय अधिकृतको खोजीमा लागि एक महिनादेखि सिंहदरबार धाइरहेका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाजिर भएको दुई महिना नपुग्दै प्रमुख प्रशासकीय अधिकृत सरूवा गरिदिएको हो। साउन अन्तिम साता पञ्चेश्वरका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामी कार्तिक अन्तिम तिर सरूवा गरेर बैतडी कै मेलौली नगरपालिका पठाइयो। त्यसपछि पञ्चेश्वर नयाँ प्रमुख प्रशासकीय अधिकृत पाउन सकेको छैन। गाउँपालिकाको कामनै ठप्प भएपछि अध्यक्ष चन्द प्रमुख प्रशासकीय अधिकृत खोजीमा एक महिनादेखि सिंहदरमा धाइरहेका हुन्।
अदालतमा तारिक धाए जस्तो अध्यक्ष चन्द दैनिक प्रमुख प्रशासकीय अधिकृतको खोजीमा सिंहदरबार धाइरहेका छन्। अदालतमा तारेख धाए भन्दा मन्त्रालय धाउन चर्को भएको पञ्चेश्वरका अध्यक्ष चन्द बताउँछन्। प्रमुख प्रशासकीय अधिकृत पढाइदिन अनुरोध गर्दा मन्त्रालयका कर्मचारीले रूखो व्यवहार गरेको उनले सुनाए।
गाउँपालिकाको सहमति नलिइ प्रमुख प्रशासकीय अधिकृत सरूवा गरेको विषयमा शर्मासँग प्रश्न गर्दा आलटाल जवाफ दिएको उनको भनाइ छ। गाउँपालिकाको सबै कामकाज ठप्प भएकाले यथाशीघ्र प्रमुख प्रशासकीय अधिकृत पठाउनु पर्ने उनको माग छ। २४ घण्टाभित्र प्रमुख प्रशासकीय अधिकृत नपठाए आमरण अनसन बस्ने चन्दले चेतावनी दिएका छन।




