


बैतडी:बैतडीको पञ्चेश्वर गाउँपालिका बिगत तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नखटाउँदा गाउँपालिकाको सेवा प्रभावित भएको छ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकामा सेवा प्रभावित भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। सामाजिक सुरक्षा भत्ता, कर्मचारी तथा शिक्षकहरूको पारिश्रमिक र गाउँपालिकामा हुने विकास निर्माणका कामहरू अघि बढ्न नसकेको अध्यक्ष चन्दले बताए । गत साउनमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा गाउँपालिकामा आएका दलबहादुर धामीको बैतडीकै मेलौली नगरपालिकामा सरुवा भएपछि पञ्चेश्वर गाउँपालिका हाकिमविहीन बनेको थियो।
त्यसपछि गाउँपालिका अध्यक्ष एक महिनासम्म हाकिमको व्यवस्था गरिदिन भन्दै संघीय राजधानी धाइरहेका थिए। पुस १४ गते सामान्य प्रशासन मन्त्रालयले सहरी विकास मन्त्रालयमा रहेका शाखा अधिकृत वीरसिंह भण्डारीलाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाएको थियो। पुस १४ गते नै भण्डारीलाई गाउँपालिकामा खटाएको परिपत्र गरेको भए पनि हालसम्म सम्पर्कमा नआएका र गाउँपालिकामा हाजिर भएका छैनन्।




