


बैतडी:सशस्त्र प्रहरी बलले सुदूरपश्चिम प्रदेशमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। सुरक्षा योजनाअनुसार प्रदेशभर सशस्त्र प्रहरी परिचालन सुरु भइसकेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति वरिष्ठ उपरीक्षक (एसएसपी) दिगविजय सुवेदीका अनुसार प्रदेशका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका कार्यालयमा सशस्त्र प्रहरी परिचालन गरिएको छ। उनले माघ २१ गतेदेखि प्रदेशका सबै १६ निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीको निर्वाचन क्षेत्र सुरक्षा बेस स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए । उक्त सुरक्षा बेस डीएसपीको कमाण्डमा रहनेछ।
एसएसपी सुवेदीका अनुसार फागुन ६ गतेदेखि सशस्त्र प्रहरीको मोबाइल टोली परिचालन गरिनेछ भने रिजर्भ र क्यूआरटी टोलीलाई पनि तयारी अवस्थामा राखिनेछ। साथै बाहिनीस्तरमा प्रदेशस्तरीय रिजर्भ तथा अनुगमन टोली गठन गरिएको छ। निर्वाचन अवधिभर प्रदेशभर करिब पाँच हजार एक सय सशस्त्र प्रहरी परिचालन गर्ने तयारी रहेको उनले बताए।
सुदूरपश्चिम प्रदेशमा कुल एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्र रहेका छन्। तीमध्ये ४८१ मतदानस्थल र ९८५ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा परेका छन्। यस्तै ३०० मतदानस्थल सामान्य र ३९५ संवेदनशील छन् भने मतदान केन्द्रतर्फ ४५६ सामान्य र ७५७ संवेदनशील रहेका छन्।




