
बैतडीको अलपत्र पाटन विमानस्थल:टिकटक बनाउने मैदानमा सीमित
सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु नगरपालिकाको कर्तव्य हैन र?



बैतडी, पाटन : बैतडीको पाटन क्षेत्रमा रहेको पाटन विमानस्थल लामो समयदेखि सञ्चालनविहीन अवस्थामा छ। संरचना तयार भए पनि नियमित उडान नहुँदा विमानस्थल अहिले अलपत्र जस्तै बनेको छ। पछिल्लो समय उक्त क्षेत्र स्थानीय युवायुवतीहरू टिकटक तथा अन्य सामाजिक सञ्जालका भिडियो बनाउने स्थलका रूपमा प्रयोग गर्न थालेका छन्।
विमानस्थल नगरपालिकाको सम्पत्तिभित्र पर्ने भए पनि यसको संरक्षण, सुरक्षाको व्यवस्था र दीर्घकालीन सञ्चालनका विषयमा प्रभावकारी पहल नदेखिएको स्थानीयको गुनासो छ। रनवे वरिपरि बारबन्देज भएपनि केही ठाँउमा तोडेको पाइन्छ साथै सुरक्षाकर्मीको नियमित निगरानी र स्पष्ट सूचना बोर्डको अभाव देखिन्छ। यसले संरचनामा क्षति पुग्ने तथा भविष्यमा सञ्चालनका क्रममा थप लागत बढ्ने जोखिम बढाएको छ।
स्थानीयवासीका अनुसार विमानस्थल सञ्चालनमा ल्याउन सके पाटन क्षेत्रको पर्यटन, व्यापार तथा आपतकालीन स्वास्थ्य सेवामा ठूलो टेवा पुग्ने थियो। तर सरोकारवाला निकायबीच समन्वय नहुँदा योजना कागजमै सीमित भएको उनीहरूको भनाइ छ।
विमानस्थल नगरपालिकाको स्वामित्वमा रहेको सार्वजनिक सम्पत्ति भए पनि यसको संरक्षण, सुरक्षाको व्यवस्था र दीर्घकालीन व्यवस्थापनमा आवश्यक ध्यान नपुगेको स्थानीयवासीको गुनासो छ। रनवे क्षेत्रमा बारबन्देजको अभाव, चेतावनी बोर्ड नहुनु तथा नियमित निगरानी नदेखिनुले संरचनाको दुरुपयोग बढिरहेको छ।

स्थानीयहरू भन्छन्—उडान नभए पनि सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु नगरपालिकाको कर्तव्य हो। विमानस्थल सञ्चालनमा नआए पनि यसको संरचना सुरक्षित राख्नु, क्षति हुन नदिनु र भविष्यका लागि सञ्चालनयोग्य अवस्थामा जोगाइराख्नु स्थानीय तहको जिम्मेवारीभित्र पर्छ। समयमै संरक्षण नगरिए राज्यको लगानी खेर जाने र पुनः सञ्चालनका लागि थप आर्थिक भार पर्ने जोखिम रहन्छ।
पाटन क्षेत्रको पर्यटन, व्यापार तथा आपतकालीन सेवाका लागि महत्वपूर्ण मानिएको विमानस्थल अहिले बेवास्ताको सिकार बन्न पुगेको छ। अब नगरपालिकाले जिम्मेवारी बोध गर्दै स्पष्ट कार्ययोजना सहित संरक्षण र व्यवस्थापनमा सक्रियता देखाउनु आवश्यक देखिएको छ।
२०५२ देखि पूर्णरुपमा बन्द रहेको सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल निर्माण भएपछि केहि दिन सञ्चालनमा आएको थियो।
ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले ११ करोडमा विमानस्थल कालोपत्रको काम सम्पन्न गरेको थियो । पाटनमा विमानस्थलमा ५९० मिटर लम्बाई र २० मिटर चौडाइको धावन मार्ग कालोपत्रे गरिएको थियो भने ७० मिटर लम्बाई र ३० मिटर चौडाईको एप्रोन कालोपत्रे गरिएको थियो।
पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो । पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो । अहिले पनी यात्रु यात्रु कम भएको भन्दै जहाज नचलेपछि विमानस्थल टिकटक बनाउने स्थलको रुपमा परिणत भएको छ।



