


बैतडी : बैतडीबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा
रास्वपाका हरिमोहन भण्डारी बिजयी भएका छन् ।
उनले नेपाल क्रिकेट संघका अध्यक्ष समेत रहेका नेपाली काङ्ग्रेसका उम्मेदवार चतुर बहादुर र एमालेका पुर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई पराजित गरेका हुन् ।
अन्तिम मत परिणाम अनुसार हरिमोहन भण्डारी २२ हजार १ सय ३४ मतसहित निर्वाचित भएका हुन् ।

उनले नेपाली काङ्ग्रेसका चन्दलाई ३ हजार ९ सय ४० मतान्तरले पराजित गरेका हुन् ।
काङ्ग्रेसका चन्दले १८ हजार १ सय ९४ मत ल्याए ।
बैतडीबाट पटकपटक सांसद बनेका नेकपा एमालेका पुर्व मन्त्री भण्डारी तेस्रो स्थानमा झरेका छन् । उनले १७ हजार ९१ मत ल्याए ।
२०७० सालदेखि बैतडीबाट लगातार सांसद बनेका पुर्व मन्त्री भण्डारीको संसदीय यात्रालाई पुर्णबिराम लगाउदै रास्वपाका भण्डारी बिजयी भएका हुन् ।
यस अघि बैतडी १ मा २०७४ मा कांग्रेसबाट प्रदेशसभा सदस्य उठेका उनी पराजित भएका थिए। २०७९ मा पार्टीबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवार बनेर पनि हार व्यहोर्नुपरेको थियो
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काङ्ग्रेस, माओवादीको गठबन्धन भएको बैतडीमा नेकपा माओवादीका नरेन्द्र कुँवर ‘विजयसुन्दर’ले टिकट पाएका थिए । गठबन्धनलाई पराजित गर्दै एमालेका भण्डारी विजयी भएका थिए ।




