


धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा पछिल्ला करिब ६ महिनादेखि सम्पर्कमा छैनन्। २३ र २४ गते भएको जेन्जी आन्दोलनपछि उनी प्रदेशसभा सचिवालयसँग पनि सम्पर्कविहीन बनेका छन्।देउवा निकट काँग्रेस कैलालीका नेताहरूका अनुसार जेन्जी आन्दोलन भएको चार दिनपछि उनी अमेरिका गएका थिए। उनका एक निकट नेताले देउवाले ११ माघमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनअघि नै नेपाल फर्किने बताएको भए पनि अझै फर्किन नसकेको बताए। हाल उनले एक साताभित्र फर्किने जानकारी दिएको ती नेताले बताए।

देउवा झण्डै सात महिनादेखि प्रदेशसभा बैठकमा पनि उपस्थित भएका छैनन्। सुदूरपश्चिम प्रदेशसभा नियमावली २०८० को धारा १९३ अनुसार लगातार १० बैठकमा विनासूचना अनुपस्थित भए प्रदेशसभा सदस्यको पद नै रिक्त हुन सक्ने व्यवस्था छ। तर पछिल्लो सात महिनामा जम्मा सातवटा मात्र बैठक बसेकाले उनको पद भने कायम नै रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
सम्पर्कविहीनजस्तै रहेका देउवाको तलब तथा सुविधा भने सचिवालयले रोक्का गरेको छ। सचिवालयका एक कर्मचारीका अनुसार लामो समयसम्म सम्पर्कमा नआएको र आधिकारिक जानकारी पनि नदिएको अवस्थामा तलब भुक्तानी गर्दा प्रश्न उठ्न सक्ने भएकाले हाललाई भुक्तानी रोकिएको हो। उनी फर्किएपछि एकमुष्ट तलब सुविधा उपलब्ध गराउन सकिने बताइएको छ।




