


काठमाडौँ — भारतबाट एक सय रुपैयाँभन्दा बढी मूल्यमा खरिद गरिएका सामानमा भन्सार महसुल अनिवार्य गर्न थालिएपछि सीमावर्ती नाकामा तनाव बढेको छ । भन्सार कार्यालय अगाडि नाकामा खटिएका जाँचकीले सर्वसाधारणको झोला खानतलासीलाई तीव्रता दिएका छन् । यसक्रममा सामान खोसाखोस/तानातान चल्ने गरेको छ, बेला–बेला झडप पनि हुने गरेको छ ।
सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानको भन्सार महसुल चुक्ता गरेर मात्र भित्र्याउन माइकिङ गरिरहेका छन् । तर यता महँगी चुलिएकै बेला सीमावर्ती बजारमा गरिने किनमेलमा कडाइ गरिएको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन् । झोला खानतलासी गर्ने क्रममा सुरक्षाकर्मीले अभद्र व्यवहार गरेको गुनासो पनि सर्वसाधारणले गर्न थालेका छन् ।
नाकामा कडाइ गरिएपछि सामान किनमेल गर्न सीमापारि जाने क्रम घट्न थालेको छ । सीमावर्ती भारतीय बजार सुनसान हुँदै गएका छन् । नाकामा गरिएको कडाइलाई कतिपय नेपाली व्यापारीले सकारात्मक भनेका छन् भने अन्यले एक सय रुपैयाँको सीमा अव्यावहारिक रहेको तर्क गरिरहेका छन् ।
वीरगन्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले गत बुधबारदेखि नै माइकिङ गरेर सर्वसाधारणलाई १ सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार शुल्क तिर्नुपर्ने नयाँ नियमबारे जानकारी गराइरहेको छ । शुक्रबारबाट सर्वसाधारणलाई १ सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार शुल्क तिर्न लगाइरहेको छ । एक सशस्त्र प्रहरी अधिकृतले भने, ‘दुई दिन माइकिङ गरेर सर्वसाधारणलाई जानकारी दियौं, शुक्रबारदेखि भने कडाइ गरेका छौं ।’

भारतबाट भित्रिने अन्य वस्तुको तत्काल भन्सार सहज भए पनि चामलको हकमा समस्या भइरहेको ती अधिकृतले बताए । वीरगन्ज भन्सारमा खाद्य क्वारेन्टाइन रहे पनि जनशक्ति अभाव र कर्मचारीले चामलको तत्काल परीक्षण गर्न नसक्ने भएकाले समस्या भइरहेको उनले बताए । जिल्लाको जयमंगलापुर, भिस्वा, ठोरी, धोरेलगायतका नाकाबाट दैनिक थुप्रै नेपालीले सीमावर्ती भारतीय बजारमा किनमेल गरेर फर्कने गरेका छन् । यस्तै कञ्चनपुरको गड्डाचौकी भन्सारको ब्यारियरमा बिहीबारदेखि एक सयभन्दा बढी मूल्य बराबरका मालसामान भारतबाट ल्याउनेले अनिवार्य मूल्य घोषणा गरी राजस्व बुझाउनुपर्ने जानकारी दिने गरिएको छ ।
कतिपयले यसलाई सकारामक कदमका रूपमा लिएका छन् । धेरैले अव्यावहारिक र अनावश्यक भनेर टिप्पणी गरेका छन् ।
सरकारले आर्थिक वर्ष २०६६/०६७ मा पनि एक सय रुपैयाँभन्दा बढीको मालवस्तु संक्षिप्त करबिजकअन्तर्गत भन्सार महसुल काट्न सुरु गरेको थियो । ‘सबै मालवस्तु भन्सार शुल्क तिरेर आयात गर्नुपर्छ भन्ने मान्यता हो, त्यहीअनुसार यो विगतदेखिकै व्यवस्था लागू गरिएको हो,’ कञ्चनपुर भन्सारका निमित्त प्रमुख चक्रदेव भट्टले भने, ‘यसमा सबै यात्रुले सहयोग गरे सहज हुन्छ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार लगाएर मात्रै नेपाली बजारमा परिवर्तन नआउने बताउँछन् । त्यसका लागि सबैखाले सामानको भन्सार शुल्कमा कटौती गर्नुपर्ने उनको भनाइ छ । ‘भन्सार अनिवार्य गर्दैमा नेपाली बजारको उँभो गति लाग्दैन । व्यवसायीले तिर्ने भन्सार जसले पनि तिर्न सक्छ,’ उनले भने, ‘नेपाली बजार बढाउन उपभोक्तालाई सहुलियत दिऔं ।’
नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले भने लामो समयदेखि आफूहरूले उठाउँदै आएको माग पूरा हुन लागेको बताए । ‘अब उपभोक्तालाई सहुलियत दिनेतर्फ सोच्न जरुरी छ,’ उनले भने, ‘व्यवसायीले जुनसुकै व्यापारमा पनि आफ्नो ठाउँबाट सक्दो कम नाफामा धेरै सामान बेच्ने लक्ष्य गर्नुपर्छ । कालोबजारी गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ । हामी सहयोग गर्न तयार छौं ।’
भैरहवा भन्सार प्रमुख हरिहर पौडेलले घरायसी प्रयोजनका नाममा नाकाबाट हुने ठूलो परिमाणको आयात नियन्त्रण गर्न र चोरी पैठारी नियन्त्रण गर्न कडाइ गरिएको बताए । सर्वसाधारणले घरेलु उपयोगका लागि न्यून परिमाणमा ल्याउने सामानलाई व्यावहारिक रूपमा हेर्ने गरिएको उनले जानकारी दिए । ‘भन्सार राजस्व चुहावट नियन्त्रण गर्न र अवैध गतिविधि नियन्त्रण गर्न मूल भन्सारसहित अन्य नाकामा कडाइ गरिएको हो,’ उनले भने, ‘सीमा नाकामा कडाइ गरिएपछि राजस्व चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव पर्न थालेको छ ।




