


बैतडी, वैशाख १६ — बैतडी जिल्लाको पुर्चौडी नगरपालिका हाटस्थित नगर कार्यपालिकाको कार्यालयमा आज नयाँ प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार पोखरेलले औपचारिक रूपमा हाजिरी गरेका छन्।

हाजिरीसँगै नगर कार्यपालिकाको कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच नयाँ प्रमुख प्रशासकीय अधिकृत पोख्रेलको स्वागत गरिएको हो। कार्यक्रममा नगर प्रमुख दिपक बहादुर बम, उपप्रमुख मिना धानुक, निवर्तमान प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर नेपाली, विभिन्न शाखाका प्रमुख तथा अन्य कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित व्यक्तिहरूले खादा, फूलमाला तथा शुभकामना सहित पोख्रेललाई स्वागत गरेका थिए।
नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्रांकित द्वितीय श्रेणीका उपसचिव पोखरेलको आगमनसँगै नगरपालिकाको प्रशासनिक कार्य थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। नगर सरकार, वडा कार्यालयहरू, योजना तथा आयोजना सम्बन्धी दैनिक कामकाज अब थप व्यवस्थित रूपमा सञ्चालन हुने विश्वास गरिएको छ।
स्थानीयवासीले नयाँ नेतृत्वसँगै पुर्चौडी नगरपालिकामा सुशासन, निष्पक्षता, भयरहित सेवा प्रवाह तथा पारदर्शी प्रशासन स्थापित हुने अपेक्षा व्यक्त गरेका छन्।




