


कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका–५ पोल्खरीमा ९ वर्षीय बालकलाई हातखुट्टा बाँधेर निर्घात कुटपिट भएको छ। वेदकोट नगरपालिका–३ दैजीका ९ वर्षीय बालक राजेश भण्डारीलाई पोल्खरीका ३६ वर्षीय भोज नाथले काक्रा चोरेको आरोपमा हात खुट्टा बाँधेर निर्घात कुटपिट गरेका हुन्।
बुधबार दिउँसोको घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि घटना बाहिरिएको हो। भिडिओमा बालकको हात डोरीले पछाडी बाँधिएको छ भने खुट्टा पनि बाँधिएका छन्। हात खुट्टा बाँधेर कुटिएका ती बालक रक्ताम्य भएको सो भिडिओ पीडित परिवारले प्रमाणका रुपमा जाहेरीका साथ प्रहरीलाई दिएको छ।

बालक पोल्खरीस्थित चौधर नदी किनारको बगरमा गाई बस्तु चराउने र क्रिकेट खेल्नका लागि साथीभाई संगै गएका थिए। क्रिकेट खेल्ने क्रममा बल चौधर नदीमा गएपछि बल लिन गएका बेला काक्राबारी हुदै गइरहेको देखेपछि नाथले बालकलाई नियन्त्रणमा लिएर कुटपिट गरेको घाइते बालककी हजुरआमा नन्दा मेहताले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।
मेहताले कुटपिट गर्ने नाथविरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन्। ‘नाबालकको दुवै हात पछाडीतिर र दुवै खुट्टा डोरीले बाँधेर भुईमा लडाई ढंगा, लठ्ठी र लात मुक्काले रक्ताम्य हुने गरि बेहोस बनाइ यसलाई मार्नुपर्छ भनि घरमा बाँधेको कुकुर फुकालेर टोकाएको छ,’ जाहेरीमा लेखिएको छ।
त्यसपछि बालकलाइ्र्र घाइते अवस्थामा स्थानीयले उद्धार गरेका थिए। बालकको आमा ममता भण्डारी र बुवा रोजगारीका लागि भारतमा छन्। बालक पोल्खरीस्थित मामा घरमा बस्दै आएका छन्। घाइते बालकलाई महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि आफन्तको जिम्मा लगाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडक बहादुर खत्रीका अनुसार बालकमाथि अमानविय व्यवहार गर्ने नाथलाई नियन्त्रण लिई अनुसन्धान भइरहेको बताए।# सत्य दृस्यबाट




