


बैतडी:बैतडीको पुर्चौंडी नगरपालिकाले सार्वजनिक तथा सरकारी सम्पत्तिमाथि भएको अतिक्रमण हटाउन सार्वजनिक सूचना जारी गरेको छ। नगरपालिकाले सडक, पुल, विद्यालय भवन, सार्वजनिक जग्गा, चौतारा, पार्क, खानेपानी संरचना, वन क्षेत्र, विद्युत तथा सञ्चार संरचनाजस्ता सम्पत्तिहरू सम्पूर्ण नागरिकको साझा सम्पत्ति भएकाले यसको संरक्षण, संवर्द्धन र सही उपयोग गर्नुपर्ने जनाएको छ।
नगरपालिकाले नेपाल सरकार गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय बैतडीबाट प्राप्त निर्देशनअनुसार स्थानीय तहभित्र भएका सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको जनाएको छ।

बुधबार बसेको नगर कार्यपालिकाको निर्णयअनुसार नगरभित्रका विभिन्न वडा, बजार क्षेत्र, सडक छेउछाउ तथा वन क्षेत्रमा घर, टहरा तथा व्यापार व्यवसाय सञ्चालनका नाममा अतिक्रमण गरिएका संरचनाको पहिचान गरी हटाउने कार्य सुरु गरिने सूचनामा उल्लेख छ।
नगरपालिकाले त्यस्ता सार्वजनिक वा सरकारी जग्गामा बसोबास तथा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यक्ति वा परिवारलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी आवश्यक सरकारी प्रमाण पेश गर्न आग्रह गरेको छ। अन्यथा प्रचलित कानुनअनुसार अतिक्रमित संरचना हटाइने नगरपालिकाले चेतावनी दिएको छ।
सूचनामा प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार पौडेल र नगर प्रमुख दीपक बहादुर बमको हस्ताक्षर रहेको छ।





