


बैतडी, साउन ४ — दोगडाकेदार गांउपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेका ७ जना कर्मचारीलाई सम्मान गरेको छ।
गाउँपालिकाले उत्कृष्ट कर्मचारीका रूपमा न्वाली स्वास्थ्य चौकीका इञ्चार्ज केशवराज जोशी, कटौजपानी स्वास्थ्य चौकीमा कार्यरत अनमी रमिता कुमारी जोशी, दोगडाकेदार गाउँपालिका–३ की वडा सचिव शान्ति साउद, गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी वीरभद्र गिरी, लिफ्ट टेक्निसियन आँसु कुमार चौधरी, न्वाली स्वास्थ्य चौकीका कार्यालय सहयोगी मान सिंह भाट तथा रिम स्वास्थ्य चौकीमा कार्यरत स्वीपर अनिता जोशीलाई सम्मान गरेको हो।
सम्मानित कर्मचारीहरूलाई गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की, उपाध्यक्ष पार्वती ऐरी कार्की तथा प्रमुख प्रशासकीय अधिकृत नरेशराज जोशीले सम्मानपत्र प्रदान गर्दै उनीहरूको कार्यसम्पादनको प्रशंसा गरेका थिए।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कार्कीले इमान्दारिता, जिम्मेवारी र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको बताए।
उनले आगामी दिनमा पनि सेवाप्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन कर्मचारीहरूलाई समर्पित भएर काम गर्न आग्रह गरे।
सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत गाउँपालिकाले आफ्नो वार्षिक प्रगति, सेवा प्रवाह तथा योजनाबारे जानकारी गराउनुका साथै नागरिकका गुनासा, सुझाव र जिज्ञासासमेत संकलन गरेको थियो। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।





