


बैतडी, साउन ४। दोगडाकेदार गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार गाउँपालिका सभाहलमा सम्पन्न गरेको छ।
गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन भएका योजना, कार्यक्रम, बजेट खर्च, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिबारे जानकारी गराइएको थियो। कार्यक्रममा स्थानीय नागरिकहरूले सेवा प्रवाह, विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, सडकलगायतका विषयमा आफ्ना जिज्ञासा, गुनासा तथा सुझाव राखेका थिए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्की, प्रमुख प्रशासकीय अधिकृत नरेशराज जोशी, सबै वडाका वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

सहभागीहरूले उठाएका प्रश्न तथा जिज्ञासाको सम्बन्धित शाखाका प्रमुख र जनप्रतिनिधिहरूले जवाफ दिँदै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको सहजीकरण उदाउने मिडिया प्रा.लि., बैतडी ले गरेको थियो भने आयोजना दोगडाकेदार गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, बैतडी ले गरेको हो।
सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।





