


बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–३ स्थित कुलाउ माध्यमिक विद्यालयमा शिक्षक र स्थानीयबीच झडप भएको भिडियो सार्वजनिक भएको छ। घटनापछि प्रहरीले विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षसमेत रहेका स्थानीय कालु चन्दलाई नियन्त्रणमा लिएर जिल्ला सदरमुकाम ल्याएको छ।
मंगलबार कक्षा सञ्चालन भइरहेको समयमा चन्द विद्यालयमा पुगेका थिए। उनले अचानक विद्यालयमा बिदा भएको संकेत दिने घण्टी बजाएपछि शिक्षकहरू जम्मा भएको र त्यसक्रममा विवाद बढ्दै हातपात भएको विद्यालयको भनाइ छ।
सार्वजनिक भएको भिडियोमा भने दुवै पक्षबीच चर्काचर्की भएको तथा स्थानीयतर्फबाट हात उठाएको देखिन्छ। भिडियोमा शिक्षकहरूले काम नगरेको, सरुवा भएको ठाउँमा नजाने लगायतका विषयमा समेत कुराकानी भएको सुनिन्छ।

त्यसक्रममा विद्यालयका एक शिक्षकले ‘तपाईं को हो, किन यसरी विद्यालयको वातावरण खराब गर्नुहुन्छ ?’ भन्ने आशय व्यक्त गरेको सुनिन्छ।
कालु चन्दले कुनै बिवादमा दरबन्दी भन्दा बढी शिक्षक घाम तापेर बस्ने कुनैमा एक शिक्षकले पठाउनु पर्ने बाध्यता किन आयो भनेर प्रश्न गरेको उनका आफ्न्तको भनाई छ । जनप्रतिनिधिले नै चन्दलाई प्रहरी लगाएर नियन्त्रणमा लिन लगाएको आरोप समेत आफ्न्तले लगाएका छन् ।
घटनापछि विद्यालयका शिक्षक नरि भट्ट र कालु चन्दलाई छलफल तथा मेलमिलापका लागि जिल्ला सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान तथा छलफल भइरहेको छ।




