


काठमाडौँ । पार्टीलाई जानकारी नदिई सरकारले प्रहरी नेतृत्व परिवर्तन गरेपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक प्रभावित भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर अतिरिक्त महानिरीक्षक (एआई) डा. मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको थियो।
आईजीपी फेरबदलमा सरकारका प्रवक्ता सस्मित पोखरेल र पार्टी प्रवक्ता जगदीश खरेलको फरक–फरक धारणा आएपछि दलको बैठक बोलाउने विषयमा अन्योल देखिएको छ । रास्वपाका एक नेताले सर्वोच्च अदालतका न्यायाधीशलाई महाभियोग लगाउने विषयमा आन्तरिक छलफल भइरहेका बेला आईजीपी फेरबदलका कारण तत्काल बैठक बस्ने अवस्था नदेखिएको बताए ।शनिबारसम्म बैठक बोलाउने विषयमा प्रधानमन्त्री एवं दलका नेता बालेन्द्र शाह, उपनेता गणेश पराजुली र मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीबिच अनौपचारिक छलफल भए पनि निश्चित नभएको ती नेताले जानकारी दिए ।
पहिलो कुरा लाइन नै क्लियर भएको छैन । संसदीय दलको नेता वा उपनेताको निर्देशनमा मुख्य सचेतकले बैठक बोलाउनुपर्ने हो । अहिलेसम्म हामी अनौपचारिक छलफलमै छौँ’, रातोपाटीसँग ती नेताले भने, ‘यस विषयमा दलका नेता, उपनेता, मुख्य सचेतकलगायतसँग अनौपचारिक छलफल भइराखेको छ । तिहार अगाडि औपचारिक दलको बैठक बस्ने सम्भावना टरेको देखिन्छ ।’
पार्टी स्रोतका अनुसार आईजीपी फेरबदल प्रकरणमा सरकारका प्रवक्ताले गलत व्याख्या गरेका छन् । सरकारका प्रवक्ता पोखरेलले पार्टीको निर्देशनअनुसार आईजीपीको जिम्मेवारी हेरफेर गरेको दाबी गरेका थिए । तर, सरकारका प्रवक्ताको भनाइ खण्डन गर्दै पार्टी प्रवक्ता खरेलले यस विषयमा पार्टीलाई कुनै जानकारी नभएको जिकिर गरेका थिए ।बिचौलिया इनम सापकोटासँग सर्वोच्चका न्यायाधीशहरूको ‘नेक्सस’ देखिएको तथा सञ्चारगृहमा प्रहरी धरपकड गरिएको विषयमा रास्वपाले सरकार र संसदीय दललाई निर्देशन दिएको थियो । सरकारको पछिल्लो कामकारबाही सम्बन्धमा सर्वत्र आलोचना भइरहेका बेला गत शनिबार रास्वपाले सचिवालयको आकस्मिक बैठक बोलाएको थियो ।

बिचौलियासँग न्यायाधीशहरू जोडिएको विषयमा पार्टीले संसदीय दललाई महाभियोग प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी पक्राउ प्रकरणमा दोषीमाथि छानबिन गरी कारबाही गर्न सरकारसँग आग्रह गरेको थियो । पछिल्लो घटनाक्रमका कारण पार्टी र सरकारबीच दूरी बढेको छ । पार्टी निर्णयको सरकारका प्रवक्ताले अपव्याख्या गरेको भन्दै असन्तुष्टि बढेको छ ।सरकारका प्रवक्ताले बोल्दा ढंग पुर्याउनु भएन । उहाँमा परिपक्वता देखिएन’, रास्वपाका अर्का एक नेताले बताए ।
यता, पार्टी प्रवक्ता जगदीश खरेलले बुधबार नै सरकारका प्रवक्ताको अभिव्यक्तिको खण्डन गरेका थिए ।
उनले भनेका थिए, ‘पार्टीले कुनै व्यक्ति राख वा हटाऊ भन्ने काम गरेको छैन, गर्दैन । यसबारे सरकारले पुष्टि गर्ला ।’
पार्टी निर्णयको कार्यान्वयन, सरकारका पछिल्ला निर्णय र महाभियोग प्रक्रियालाई अगाडि बढाउने सम्बन्धमा सभापति रवि लामिछानेले पार्टीका शीर्ष नेता तथा सरकारका मन्त्रीहरूसँग निरन्तर छलफल गरिरहेका छन् ।
संसदीय दलका उपनेता गणेश पराजुलीले ‘कन्टेन्ट’ को विषयमा अनौपचारिक छलफल भइरहेकाले दलको बैठक तत्काल बस्ने वा नबस्ने सम्बन्धमा कुनै निष्कर्षमा नपुगेको बताए ।
‘कन्टेन्ट क्लियर हुँदासाथ दलको बैठक बस्छ । कसरी अगाडि बढ्ने भन्नेबारे हामी अनौपचारिक छलफलमै छौँ’, पराजुलीले भने ।




