



बैतडी,
डडेलधुराको आलीताल गाउँपालिकाका एक कर्मचारी कैलालीको जंगलमा हात बाँधिएको अवस्थामा भेटिएका छन्।
आलीताल गाउँपालिकामा कम्प्युटर अपरेटरको रुपमा कार्यरत लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरी नगरपालिका–५ स्थित बुढीतोला (गाइमारे)को जंगल छेउमा हात बाँधिएको अवस्थामा भेटिएका हुन्। कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी हिजो (आइतबार) महेन्द्रनगरबाट डडेलधुरा आउन हिँडेका थिए। तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताए।
घाइते भण्डारीलाई अहिले उपचारका लागि कैलालीको अत्तरीयास्थित पद्मा अस्पतालमा ल्याइएको छ। भण्डारीको टाउको र शरीरमा चोट लागेको छ।
प्रहरीका अनुसार उनी गाडी चलाएर आफैं डडेलधुराका लागि हिँडेका थिए। तर, उनले चलाएको गाडी बाटोमै लुटिएको छ। चोरहरुले गाडी लुटेर भण्डारीलाई जंगलमा हातखुट्टा बाँधेरे हिँडेको देखिएको प्रहरीको भनाइ छ। यद्यपि घटनाबारे अनुसन्धान भइरहेकाले थप तथ्य खुल्दै जाने डीएसपी जोशीको भनाइ छ।




