



बैतडी-बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डमा ‘लेन्थवर्कर’ (सडक मजदुर) का रूपमा कार्यरत १२ जना मजदुरले दुई वर्षको तलब नपाएपछि परिवारको बिचल्ली भएको छ। उनीहरू सामान्य परिवारका हुन्। मेलौली नगरपालिका–१ का लेन्थवर्कर बजिरसिंह नायकले भने, ‘दुई वर्षदेखि चामल, नुन र तेलको मात्रै लाखौं ऋण लागेको छ। तिर्ने कसरी ?’
तलब दिलाइदिन भनी उनीहरूले भौतिक पुर्वाधार कार्यालय, जिल्लामा माननीय, प्रदेश सरकार र संघीय सरकारका प्रधानमन्त्री समक्षसमेत बिन्ती गरिसकेका छन्। उनीहरू अनशनसमेत बसेका छन्। ‘अहिले सडकमा बसेको अनशन मात्रै तोडेका हौं। तर, हाम्रो परिवार हिजो पनि अनशनमै थियो। भोलि पनि अनशनै हुनेछ,’ बजिरले भने। बजिरको घरमा अहिले सधैं भात पाक्दैन। उनले लिएको उधारो तिर्न नसकेपछि गाउँका सबै व्यापारीले उनलाई उधारोमा अन्न दिन बन्द गरेका छन्। बजिरकी आमा जयमतीले भनिन्, ‘लालाबाला हुर्काउनै समस्या भइसक्यो।’
मेलौली–१ कै अर्की लेन्थवर्कर सरस्वती साउँदको दुःख पनि उस्तै छ। गत वर्ष कात्तिक २३ गते विद्युत् सर्ट भएर जलेको घर मर्मत गर्न साह्रै समस्या भयो उनलाई। घर जलेपछि ६ महिनासम्म दुई छोरी र एक छोरालाई लगेर माइतमै बसिन्, उनी। ‘जेनतेन वैशाखमा घरको मर्मत गरेँ। ६ महिना माइतीको घरमा बसेँ। अहिले ऋण मागेर परिवार पाल्नै गाह्रो भएको छ,’ सरस्वतीले भनिन्। पाटन–पञ्चेश्वर सडकमा लेन्थवर्करको काम गर्ने १२ जनाको अवस्था उस्तै–उस्तै छ। ‘दिनकै साहु कराउँछ। रासनको पैसासमेत दिन सकिएको छैन। बालबच्चा पाल्नै धौधौ छ’ लेन्थवर्कर लाल सिंह ठगुन्नाले भने।
मजदुरहरुलाइ पारिश्रमिक दिने सन्दर्भमा बहालवाला मन्त्री मुख्यमन्त्री र प्रधानमन्त्रीले समेत आश्वासन दिए तर अझैसम्म चासो नै दिएनन्’




