



बैतडी-जिल्ला कारागार बैतडीमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार ४ जनाको पिसिआर परिक्षणबाट कोरोना पुष्टि भएको हो भने बिहिबार अन्य कैदीहरुको पनि एन्टीजेन बिधिबाट कोरोना परिक्षण गर्दा थप १२ जनामा कोरोना पुष्टि भएको कारागार प्रमुख धारा भण्डारीले बताइन् । ‘बुधबार ४ जनामा पुष्टि भएको हो, त्यसपछि थप ८९ जनाको एन्टीजेन परिक्षण गर्दा थप १२ मा कोरोना देखियो’ उनले भनिन् ।
कोरोना पुष्टि भएका १६ जनालाई अलग्गै बसाइएको कारागार प्मुख भण्डारीले बताइन् । आजदेखि कैदीलाई भेटघाट गर्ने कार्यमा पनि रोक लगाइएको उनले बताए । ठाउँ अभावमाले वसाइ व्यवस्थापनमा पनि असहज भइरहेको उनले बताइन् ।
२५ जना कैदी अटाउने क्षमता भएको कारागारमा ९३ जना कैदीहरु रहेका छन् । क्षमता भन्दा झण्डै चार गुणा कैदीहरु रहेकाले बसाई ब्यवस्थामापनि जहिल्यै असहज हुने कारागार प्रमुख भण्डारीले बताइन् । ‘अहिले कोभिड देखिएकाहरुलाई पनि कारागारको अलग कोठामा राखेका छौ, बसाईमा काेचिएर बस्नुपरीरहेको छ’ उनले भनिन् । २०४० सालमा २५ जना कैदबिन्दी अटाउने भवन बनेकोमा त्यसपछि कुनै भौतिक संरचना बनेका छैनन् ।
बैतडीमा समुदायस्तरमै कोरोना फैलिएको छ । केहिदिन अघि भारतबाट आउनेहरुमा कोरोना देखिने गरेकोमा पछिल्लो समयमा जिल्लाभित्रै समुदायबाट चेकजाँचका लागि आउनेहरुमा कोरोना देखिने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए ।




