



बैतडी पुस १८
बैतडीको सुर्नयामा नेकपा एमालेले गाउँपालिकालाई बिभिन्न माग राख्दै ज्ञापान पत्र बुझाएको छ । आईतवार बिभिन्न ५ बुँदे मागहरु राख्दै एमालले गाउँ कमिटिले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलापती भट्टलाई ज्ञापन पत्र बुझाएको हो । गाउँपालिकाबाट सञ्चालित बिकास निर्माणका कार्यहरु र पालिकाबाट हुने सेवा प्रवाहका बारेमा नागरिक स्तरबाट बिभिन्न गुनासाहरु आएकाले त्यस्ता गुनासाहरुको बारेमा गाउँ कार्यपालिकाको बैठकमा छलफल गरी सम्बोन्धन गर्न माग गर्दै नेकपा जिल्ला कमिटि सदस्य मान बहादुर बिष्टको नेतृत्वमा गाउँ कमिटिले ज्ञापन पत्र बुझाएको गाउँ कमिटि उपाध्यक्ष लाल बहादुर पाण्डेले जानकारी दिनुभएको छ ।
गाउँ कमिटि अध्यक्ष राजेन्द्रप्रसाद भट्टद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा छनौट गरिएका बेरोजगारहरुको सुचि आधार बिहिन देखिएको र पुःन आवश्यक बिधि प्रयोग गरी वास्तबिक बेरोजगारहरुलाई छनौट गर्न माग गरिएको छ । अन्य स्थानिय तहहरुमा सामाजिक सुरक्षा भत्ता त्रैमासिक रुपमा निकासा भईसक्दा पनी सुर्नया गाउँपालिकामा भने सामाजिक सुरक्षा भत्ता निकासा नभएकोले तत्काल निकासा गर्न माग गरिएको छ ।
यस्तै चालु आर्थिक बर्षको आधा भईसक्दा पनी बजेट बिनियोजन नभएको र बिकास निर्माणका कामहरु अवरुद्ध भएकोले तत्काल बजेट बिनियोजन गरी कार्यान्वय गर्न माग गरिएको नेकपा एमाले सुर्नया गाउँ कमिटि उपाध्यक्ष पाण्डेले बताउनुभयो । यस्तै एमालले गाउँपालिका भित्रका सडकहरुको सफाईका गर्ने कार्य पुर्बाग्रही ढंगले भएको आरोप लगाउदै सबै सडकहरुको सफाई कार्य तत्काल गर्न, गत बिगतका बर्षहरुमा निर्माण भएका सडकहरुको भुक्तानी गर्न र छुटेका सडकहरुको पनी तत्काल मुल्यांकन गर्नमाग गरेको छ । जनतासंग सम्बन्धित सुचनाहरु पारदर्शी रुपमा प्रबाह गर्न पनी सुर्नया गाउँपालिकासंग नेकपा एमाले गाउँ कमिटिले माग गरेको छ




