



बैतडी -बैतडीको पाटनमा रहेको उदयदेव मन्दिरमा असोजको शुक्लपक्षको अष्टिमी र नवमिमा लाग्ने मुख्य पुजा रोकिएको छ। उदयदेव मन्दिरका मुख्य पुजारिको घरमा जुठो परेकोले पुजा रोकिएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर चन्दले जानकारी दिनुभयो।
मुख्यपुजा रोकिएसंगै मन्दिरमा दिइने बलि समेत रोकिएको उहाँले बताउनुभयो। बैतडीको पाटन स्थित ब्रह्म उदयदेवताका मुख्य पुजारी स्थानीय उपाध्याय ब्राह्मण जोशीहरुबाट हुने गर्दछन् ।
त्यस्तै उपाध्याय ‘पैतोला’ र ‘भट्ट’ ब्राह्मणहरु सहायक पुजारीको रुपमा काम गर्दछन् । यस देवता मुख्य धामी चन्द ठकुरीहरुबाट हुन्छन् ।
उदयदेवको मुख्य पूजा चैत्र महिनामा पर्ने महाअष्टमीमा लाग्ने गर्दछ । त्यस्तै असोज महिनामा पर्ने नवरात्रमा पनि यहाँकी स्थानीय सात बहिनी दुर्गाहरु स्डिलासैनी, बोदलाशैनी, पोटलाशैनी, भगाशैनी, भरणशैनी, रणसैनी र निङ्गलासैनीको विधिवत् आवाहन र पूजा-आजा गरेर ब्राह्मणद्वारा सप्तशतीको पाठका साथै हवन पनि गराइन्छ




