


बैतडि पौष २१ बैतडिको पाटनमा मुक्त हलिया, महिला र अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार उल्लङ्घनका मुद्दाहरूको व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सन्चालन भएको छ ।
राष्ट्रिय मुक्त हलिया समाज महासङ्घद्वारा सञ्चालित मुक्त हलिया सशक्तीकरण परियोजनाको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तालिममा बैतडीका ४ओटा स्थानीय तहहरु दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका मुक्त हलिया समुदायका व्यक्तिहरूको सहभागिता रहेको छ ।

प्रत्येक स्थानीय तहबाट ३ जना मुक्त हलिया समुदायका व्यक्तिहरू, अपाङ्गता भएका व्यक्ति, जनप्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको छ ।
तालिममा मानव अधिकार, मुक्त हलिया तथा अपाङ्गता भएका नागरिकहरूको अधिकारका विषयमा प्रशिक्षण दिइरहेको तालिमका प्रशिक्षक तथा जिल्ला हलिया मुक्ति समाज बैतडीका अध्यक्ष रमेश कोलीले बताउनुभयो ।
मानव अधिकार तथा सामाजिक रूपान्तरण अभियान नेपालका फोकल पर्सन समेत रहेका कोलिले भन्नुभयो, ‘हामी सहभागीहरूलाई अधिकारका विषयमा जानकारी गराउनुका साथै मुक्त हलिया समुदायका व्यक्तिहरूको अवस्था, सूचनाको हक लगायतका विषयमा समेत छलफल गरिरहेका छौँ । मुक्त हलियाका अधिकार सुनिश्चित नभएकाले सरकारलाई दबाब सिर्जना गर्नुपर्ने विषयमा छलफल गरिरहेका छौँ ।’
तालिममा स्थानीय तहका जनप्रतिनिधिहरू सँग मुक्त हलिया समुदायका व्यक्तिहरूले योजना माग तथा अधिकार स्थापित गर्न गरिने पहलबारे संक्षिप्त नाटक प्रदर्शन गरिएको राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका पूर्व अध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्य राजुराज भुलले बताउनुभयो । मुक्त हलिया समुदायका व्यक्तिहरूलाई सशक्त बनाउन रियालिटी सो देखाएको उहाँले बताउनुभयो ।




