


दार्चुला। दार्चुलामा एक बालकको ढुङ्गा लागेर ज्यान गएको छ। शुक्रबार जिल्लाको व्याँस गाउँपालिका–२ तम्पाकुका १२ वर्षीय पवन महराको ज्यान गएको हो।

उनको दार्चुलाको पारी भारतीय सिमानातर्फ पहरा फुटाउन गरिएको जिलेटिन बिष्फोटका कारण मृत्यु भएको बताइएको छ। भारत पट्टीबाट उछिट्टिएर आएको ढुंगाले लागेर उनको मृत्यु भएको व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताउनुभयो ।
पहरा फुटाउन जिलेटिन बिष्फोट गर्दा उछिट्टिएको ढुंगा टाउँकोमा लाग्दा महराको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।अध्यक्ष धामीका अनुसार तिहार बिदा सक्काएर दुम्लिङस्थित विद्यालयतर्फ आउदै गर्दा बालकको मृत्यु भएको हो। यस्तै घटनामा केही स्थानीय पनि घाइते भएको उहाँको भनाई छ। भारत धार्चुलाको लखिमपुरस्थित सडक निर्माणमा संलग्न गर्ग एण्ड गर्ग कम्पनीले जिलेटिन बिष्फोट गरेको थियो।




