



बैतडी -बैतडीमा एक युवतीको घाटीमा धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरेको अवस्थामा शव फेला परेको छ भने एक बालिका घाइते अवस्थामा फेला परेकी छन् ।
पञ्चेश्वर गाउँपालिका ४ का धनी लुहारकी २१ वर्षीया छोरी माया लुहारको घाटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको हो । उनको शव शिवनाथ गाउँपालिकाको ६ को शिवनाथ मन्दिर नजिकै जंगलमा आधा घाटि रेटेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी पञ्चेश्वर ४ कै भरत लुहारकी १५ वर्षीया छोरी नेहा लुहारको घाटीमा धारिलो हतियार प्रयोग गरी गम्भिर घाइते बनाएको अवस्थामा शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको सिमानामा पर्ने लामाडाँगा भन्ने स्थानमा फेला परेकि हुन् । घाइते नेहालाई उपचारको लागि धनगढी रेफर गरिएको छ । उनको पनि घाटीको रुद्रघण्टीमाथिको भाग धारिलो हतियार प्रयोग गरि काटिएको हुनाले बोल्न सक्ने स्थितीमा नरहेको बताइएको छ । उनलाई उपचारको लागि धनगढी लगिएको छ ।
माया र नेहा मंगलबार लुगा सिउन भनी घरबाट गएका र राती अबेरसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा माया मृत अवस्थामा भेटिएकी र नेहा घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




