


बैतडी -महाकालीमा निर्माण गरिएको अस्थायी संरचना एक सातामा हटाउन र तटबन्ध निर्माण रोक्न भारत सहमत भएको छ । नदीलाई नेपालतिर फर्काउने गरी भइरहेको तटबन्ध निर्माणले विवाद बढाएपछि भारत निर्माण कार्य रोक्न भारतीय पक्ष तयार भएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्याय र भारतको पिथौरागढ जिल्ला अधिकारी रिना जोशीबिच बुधवार धार्चुलामा छलफल भएको थियो । छलफलमा भारतीय पक्ष महाकालीमा विवाद रहेको ठाउँमा तत्काल तटबन्ध निर्माण रोक्न सहमत भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
महाकाली नगरपालिका–४ रिँङ्गनतालस्थित महाकालीको बहाव नेपालतिर धकेल्ने त्यस क्षेत्रको ‘बाँध’ हटाउन भारतीय प्रशासनले सहमति जनाएको छ ।
महाकालीको धार नेपालतिर धकेल्ने गरी बनाएको ‘बाँध’ हटाउन भारतीय पक्षलाई १० दिनको अवधि दिइएको छ । १० दिनपछि फेरि छलफल गर्ने र त्यसपछि विवादित ठाउँमा दुवैतिर समन्वय गरेर काम अगाडि बढाइने छ ।
महाकालीको बहाव नेपालतिर धकेल्न खोजेपछि आइतबार दार्चुला बासी विरोधमा उत्रिएका थिए । उनीहरूमाथि भारतीय नागरिकले ढुंगामुढा गरेका थिए ।




