


बैतडी- बैतडीको मेलौलीमा १५ शैय्याको अस्पताल निमार्णको बिषयलाई लिएर दुई पक्षबिच झडप भएको छ । बिहीबार १५ शैय्याको अस्पताल निमार्णंको बिषयलाई मेलौली नगरपालिका १ र ७ का स्थानीय बिच झड्प भएको हो ।
मेलौलीमा बन्ने भनिएको १५ शैय्याको अस्पताल केशरपुर प्राथमिक स्वास्थय केन्द्रमा बन्नुपर्ने माग गर्दै वडा नम्बर ७ का स्थानियहरुले मंगलबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । कार्यालयमा गरिएको तालाबन्दी खोलेपछि वडा ७ का स्थानियहरु नाराबाजी गर्दै नगरपालिकामा तारावाजी गर्दै प्रवेश गरेपछि विवाद सिर्जना भएर झडप भएको प्रहरीले जनाएको छ ।

बुधबार फेरी वडा नम्बर १ का स्थानियहरुले १५ शैय्याको अस्पताल १ नम्बर मै बन्नुपर्ने र नगरपालिकामा लागेको ताला तत्काल खोल्नुपर्ने माग राख्दै नगरपालिकाको कार्यालय अगाडी प्रदर्शन गरेका थिए । उनीहरुले वडा नं १ को बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने र त्यो कार्य नगरपालिकाले अगाडि बढाउनुपर्ने माग राखेका छन् ।
अस्पताल निर्माणका बिषयमा दुवै पक्षबीच झडप भएको र ३ दर्जन बढि घाइते भएको खबर प्राप्त भएको छ। जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी सहितको टोली मेलौलीका लागि हिँडेको बताइएको छ । अस्पातलको नाममा वडा नं १ र ७ दुवै ठाउँमा जमीन हुँदा कुन ठाउँमा बनाउने भन्ने बिषय अहिले सम्म सुल्झेको छैन् । २०७० सालदेखि अस्पताल निर्माणको कुरा उठेपनि स्थानीयहरुबीच विवाद हुँदा अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन् ।




