
उज्यालो पञ्चेश्वर बनाउने अभियानको जिम्मा लिदै गर्दा उपाध्यक्ष भट्ट कार्यकक्षमै कुटीएपछि
घटनासंग जोडिएको बिषय



बैतडीको पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्ट माथी गतहप्ता कार्यकक्षमै कुटपीट भयो । कुटपीटमा संलग्न रहेको आरोपमा पञ्चेश्वर–३ कै दिपक बहादुर चन्द प्रहरीको हिरासतमा छन् । उपाध्यक्ष भट्ट कुटपीट भएको दिनदेखी गाउँपालिका कार्यालय नै गएकी छैनन् ।
२५ फागुनमा उपाध्यक्ष भट्ट गाउँपालिका पुग्दा मदिरा सेवन गरेको अवस्थामा दीपक भेटिए । अन्य बेला काकी नाता लगाएर बोल्ने चन्द रक्सीको तालमा गालीग्लौज गर्न थालेपछि झगडा सुरुभयो ।
उपाध्यक्ष सार्वजनिक ठाउँमा गालि नगर्न आग्रह गर्दै आफ्नो कार्यकक्ष तिर लागिन् । रिसले चूर भएर कार्यकक्षमै पुगेका चन्दसंग केहि समय वादविवाद भयो, अन्ततः चन्दले तँलाई मार्न आएको हुँ भन्दै हातमा रहेको फलामको प्लास प्रहार गर्दै उपाध्यक्ष भट्टलाई कार्यकक्षमै कुटेको उपाध्यक्षको आरोप छ । झगडा भएकै बेला पुगेका एक स्थानियले छुटाएका हुन् ।
घटनासंग जोडिएको विद्युत आयोजनाको बिषय
उपाध्यक्ष भट्टलाई कुटपीट गरिएको घटनामा संलग्न पीडक र पीडित भनिएका दुवै व्यक्ति विद्युत आयोजनाका ठेकेदारबाट पीडित छन् ।
अढाई बर्ष अघिदेखी पञ्चेश्वर गाउँपालिकामा विद्युत विस्तार गरिरहेका रामेछापका ठेकेदार कुमार खड्काले काम गराए वाफत पञ्चेश्वरका कामदारहरुको पैषा दिएका छैनन् ।
उनले कामदारको मात्रै नभई दिपकले काम गरेको र उपाध्यक्ष बिनाका पति नरीको होटलमा खानबस्न वाफतको पैषा समेत तिरेका छैनन् ।
ठेकेदार खड्काका कामदारहरुको बासस्थानका लागि अन्यत्र व्यवस्था नहुँदा उपाध्यक्षका श्रीमान नरी भट्टको होटेलमा बासको व्यवस्था गरिएको थियो । कामदारहरुलाई खानबस्न मात्रै नभई नगद पैषा र सामान ढुवानी गर्न ट्याक्टर समेत नरीले नै उपलब्ध गराउने गर्दथे ।
यता दिपक चन्द कामदार परिचालनको जिम्मामा थिए । ठेकेदारले करिव डेढ बर्ष सम्म काम गर्दा पञ्चेश्वरमा १७ लाख रकम तिर्नै बाँकी छ । ठेकेदारले अहिले सम्म ४लाख मात्रै पठाएको र जुन रकम कामदारहरुलाई वितरण भैसकेको छ ।

१७ लाख ठेकेदारबाट पाउन बाँकी रहेकै अवस्थामा उपाध्यक्ष भट्टले व्यक्तिगत ऋण निकालेर समेत कामदारहरुलाई ३लाख दिइसकेकी छन् ।
उपाध्यक्ष भट्टले भनिन्‘म गाउँपालिकाको जिम्मेवार व्यक्ति भएकाले ठेकेदारले नदिएपनि समस्यामा परेका कामदारहरुलाई ऋण निकालेर ३ लाख रकम दिएकी छु । यसैबीचमा मेरो घरबाट ७ तोला सुन चोरी भयो, म ठुलो आर्थीक संकटमा परेँ । यसैमा कामदारहरुको तनाव थियो ।’
विद्युत आयोजना निर्माणको ५० प्रतिशत मात्रै काम गरेका ठेकेदारले ७० प्रतिशत काम गरेको भन्दै नेपाल विद्युत प्राधिकरण प्रादेशीक कार्यालय अत्तरीयाबाट भुक्तानी लिइसकेका छन्, तर कामदारको पैषा तिर्नै बाँकी छ ।
यता दिपक चन्दले भने आफुले पाउनुपर्ने रकम ठेकेदारको निकट भन्दै उपाध्यक्ष भट्टबाट माग्न खोजिरेका थिए ।
ठेकेदार कम्पनीबाट उपाध्यक्षका पती नरीले मात्रै १४लाख रकम पाउन बाँकी छ भने, दिपक चन्दले ३ लाखको हाराहारीमा रकम पाउन बाँकी देखिन्छ । विद्युत ठेकेदार खड्का अहिले पीडित कामदारको सम्पर्क नरहेको बताइन्छ ।
दिपकले उपाध्यक्षबाट किन पैषा मागे ?
पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष भट्ट अहिले दोश्रो कार्यकालका लागि चुनाव जितेर उपाध्यक्ष बनेकी हुन् । उनले पहिलो कार्यकालमा चुनाव जित्दा नै पालिकाभरी विद्युत विस्तार गर्ने प्रतिवद्धता जनाएकी थिइन् । तर विद्युत प्राधिकरणबाट वडा न.१देखी ४ सम्मका लागि मात्रै योजना आयो । तर ठेकेदारले विद्युत विस्तारको काम भने वडा न.६सहित थप ठाउँमा समेत गरेका छन् । जुन गाउँपालिकाबाट तिर्नु पर्ने रकम थियो । गाउँपालिका बाटै भएपनि कामदारको केहि रकम तिरिदिने उपाध्यक्षको सोच पनि थियो । उक्त रकमको लागि उपाध्यक्षले पालिकामा पटक पटक पहल समेत गरिन् । तर प्रकृया पुरागर्न नसक्दा पालिकाबाट रकम प्राप्त भएन् । तर दिपकले पैषाका लागि उपाध्यक्षलाई आग्रह गरिरहन्थे । अन्ततः उनको आग्रहको सिमा नाघेपछी आक्रोसमा उपाध्यक्ष माथी हातपात गरेका हुन् ।
गाउँपालिकाबासीका लागि विद्युत सुविधा पु¥याउन तन, मन, धन लगाएकी उपाध्यक्षका पतिले होटलको पैषा नै पाएका छैनन् भने, गाउँपालिकाको समेत साथ नपाएकी उपाध्यक्ष अन्तमा ठेकेदारका कामदारबाट पटक पटक अभद्र व्यवहार भोगेर कार्यकक्षमै कुटिइन् ।
यस घटनालाई नजिकबाट नियालेका व्यक्तिहरु दिपकले काम गरे वाफतको पैषा पाउनुपर्ने बताउछन् । तर मदिरा सेवन गरेर गाउँपालिकामा छिर्नु र उपाध्यक्ष माथी हातपात गर्नु गल्ती भएको स्थानियबासीको भनाई छ ।
उपाध्यक्ष बिना पनि आफुमाथी हातपात भएको भोलीपल्ट सम्म उजुरी नगर्ने मानसिकतामा बताउछीन् । तर घटनाको २दिन सम्म गाउँपालिका अध्यक्ष चुपचाप देखिनु र दिपकले आफुलाई अध्यक्ष सहित समेत अन्य केहि व्यक्तिहरुको साथ रहेको भन्दै धम्की दिन थालेपछि उजुरी गरेको उपाध्यक्ष भट्टको भनाई छ ।
दिपक माथी अभद्र व्यवहारको मुद्धामा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



