


बैतडी -बैतडीको सुर्नया गाउँपालिकाले नियम विपरीत सल्लाहकारलाई तलब खुवाइरहेको पाइएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षका निजी सल्लाहकारलाई नियम विपरीत तलव सुविधा उपलब्ध गराइरहेको पाइएको हो ।

संघिय ऐनमा गाउँपालिका अध्यक्षका सल्लाहकारले बढीमा मासीक १८ हजार र उपाध्यक्षका सल्लाहकारले १५ हजार तलब सुबिधा पाउने व्यवस्था रहेको छ । तर सुर्नया गाउँपालिकाले भने कार्यपालिकाबाट निर्णय गरेर नै दोब्बर तलब खुवाइरहेको हो ।
गत पुष १० गते गाउँपालिकाको कार्यपालिका बैठकले अध्यक्षका सल्लाहकार बिक्रम कुँवरले ३४ हजार र उपाध्यक्षका सल्लाहकार नरेश महराले ३२ हजार पाउने निर्णय गरेको छ । पुषमा अध्यक्ष तथा उपाध्यक्षको निजि सचिवालयमा एक÷एक जना नियुक्त गर्ने र सो तलब सुविधा उपलब्ध गराउने निर्णय गरेको भएपनि २०७९ साउन १ गतेदेखी नै दुवै जनाले पाइराखेका छन् । अध्यक्ष र उपाध्यक्षका सल्लाहकारलाई नियमबिपरीत तलब सुविधा उपलब्ध गराइरहेको पाइएपछि चौतर्फी आलोचना भैरहेको छ । गाउँपालिकाले मनोमानी ढंगले नियमीत विपरीत अध्यक्ष र उपाध्यक्षको सल्लाहकार लाई तलब खुवाइरहेकाले त्यसको विरुद्धमा आफूहरु सशक्त रुपमा लाग्ने सुर्नया ६ का स्थानीय सन्तोष अवस्थीले बताए । निजी सल्लाहकारलाई नियमविपरीत दोब्बर तलब खुवाउनु सरकारी सम्पत्तीको दोहन गर्नु हो , यसको बिरुद्धमा हामी एक भएर लाग्छौ अवस्थीले भने ।




