


बैतडी -दार्चुलाको हिमाली क्षेत्रमा गएको हिमपहिरोमा परेर बेपत्ता भएका ५ जनाको खोजी कार्यमा प्रतिकुल मौसम बाधक बनेको छ । मंगलबार व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिमपहिरोमा परेर बेपत्ता भएका १२ जनामध्ये ७ जनालाई प्रहरीले उद्धार गरेको छ । ५ जना भने अझै बेपत्ता छन् ।

बेपत्ताको खोजीका लागि बुधबार सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङ दार्चुलाबाट डीएसपी इश्वरीदत्त भट्टको कमान्डमा २१ जनाको टोली परिचालन गरिएको छ । टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ । तर, प्रतिकुल मौसमका कारण उद्धारमा समस्या देखिएको छ । घटना भएको क्षेत्रमा लगातार वर्षा भइरहेको छ ।मंगलबार दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिमपहिरो गएको थियो । त्यहाँ स्थानीय यार्सागुम्बा संकलन गर्न गएका बेला एक्कासी हिमपहिरो गएको थियो ।
मान्छे बेपत्ता भएको खबर पाएपछि छाङरुको गाँगाबगरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको ५० नं गुल्मबाट रेस्क्यू टोली बोलिनतर्फ गएको थियो।यार्सा संकलन गर्न नाम्पा हिमालको फेदतर्फ गएका मानिस टेण्ट भएको स्थानमा फर्किने क्रममा हिमपहिरोमा परेको जानकारी जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी तर्कराज पाण्डेले दिए । उनका अनुसार टेण्ट भएका स्थानबाट यार्सा खोज्न संकलकहरु बिहान हिमालको नजिक जाँदै आएका थिए ।केही दिनदेखि छाङरु र तिंकरलगायतका स्थानहरुमा हिमपात भइरहेको प्रहरीले जनाएको छ। डिएसपी पाण्डेका अनुसार अनुसार त्यहाँ अहिले करिब पाँच फिट हिउँ जमेको छ । बेपत्ता मध्ये चार महिला र एक जना पुरुष रहेको प्रहरीले जनाएको छ।




