


बैतडी -स्थानीय तह निर्वाचन सकिएको एक वर्षपछि पाँचथरको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले निर्वाचनमा टिकट लिन दुई करोड रकम बुझाएको दाबी गरिएको एउटा अडियो टेप सार्वजनिक भएको छ ।
अडियोमा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणालाई उक्त पैसा बुझाएको दाबी गरिएको छ । काफ्लेको तर्फबाट आरजुलाई पैसा बुझाएको भनिएका व्यक्ति सन्तोष श्रेष्ठ हुन् । उनी हाल नेपाली कांग्रेस पाँचथरका सहसचिव छन् ।
निर्वाचनमा कांग्रेसका तर्फबाट फिदिम नगरपालिका प्रमुखका एक जना दाबेदार प्रकाश गुुरुङसँग श्रेष्ठले सम्वाद गरेका हुन् । त्यहाँ गुरुङले श्रेष्ठलाई भान्जा भनेका छन् । उनै भान्जा भनिएका श्रेष्ठले नगरपालिका प्रमुखका अर्का दाबेदार काफ्लेबाट दुई करोड अर्थात् ‘दुई खोका’ आरजुलाई दिइसकेको बताएका छन् ।

तर, गुरुङले भने टिकट नपाउँदा दु:खी भए पनि घुमाउरो शैलीमा ‘ठीक छ, मिसन सक्सेस् भान्जा’ भनेको अडियोमा सुनिन्छ ।
श्रेष्ठले भने गुरुङलाई भेट्न र कहाँ आउनुपर्छ ? भनेर सोध्दा गुरुङले ‘टेन्सन नमान, हाम्रो आइहाल्यो त अनि’, भनेका छन् ।
गुरुङलाई फकाउने शैलीमा श्रेष्ठले ४ नम्बर (फिदिम–४ को वडाध्यक्ष) को निर्णय नगरिएको भन्दा गुरुङले फेरि सोधेका छन्, ‘दुई करोड क्यास नै आरजु राणालाई नै पुर्याएको हो नि ?’
श्रेष्ठले ‘अँ, आरजुलाई नै हो’, भनेका छन् ।
याे अडियाेमा कुरा गर्नेमध्येका एक जना कांग्रेस पाँचथरका सहसचिव श्रेष्ठले अडियो सम्वाद सम्पादित भएको प्रतिक्रिया दिएका छन् । उनले डा. आरजु कहाँ टिकटबारे कुरा गर्न पुगिएको तर दुई करोड पुर्याइएको झुटो भएको दाबी गरेका छन् । ‘भिडियो सम्पादन गरिएको हो । यसप्रति मेरो ध्यानाकर्षण भएको छ’, श्रेष्ठले शिलापत्रसँग भने, ‘आरजु देउवासम्म टिकटको कुरा पुगेर फाइनल भयो भन्ने हो । पैसा पुग्यो भन्ने कुरा होइन । त्यसकारण मेरो आपत्ति छ ।’# सिलापत्र बाट साभार




