


बैतडी -चालु आर्थिक वर्ष सुरु भएसँगै सुदूरपश्चिममा अनियमितता विरुद्धका उजुरी बढ्दै गएको पाइएको छ। चालु आर्थिक वर्षको साउनदेखि असार दोस्रो सातासम्म अनियमितता विरुद्धका ८ सय ३८ उजुरी अख्तियार दुरुपयोग अनुसान्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएको पाइएको हो।कुल दर्ता उजुरीमध्ये ३५ प्रतिशत भन्दा बढी उजुरी स्थानीय तहसँग सम्वन्धित छन्।

संघ, प्रदेश र स्थानीय तहहरुबाट सञ्चालित योजना कार्यान्वयनमा आर्थिक अनियमितता हुने गरेपछि त्यस विरुद्ध अख्तियारमा एकपछि अर्को उजुरी परेका छन्। चालु आर्थिक वर्षको साउन महिनामा सबैभन्दा बढी एक सय ४२ उजुरी दर्ता भएका छन्।
भदौमा ८४, असोजमा ५१, कार्तिकमा ३६, मंसिरमा ६०, पौष महिनामा ६४, माघमा ६३, फागुनमा ५७ तथा चैत महिनामा ७५ उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको तथ्यांक छ। त्यस्तै बैशाख महिनामा अनियमिता विरुद्धको उजुरीको संख्या बढेर ९७ पुगेको छ। जेठ महिनामा ८८ र असाढ १५ गतेसम्म अनियमितता विरुद्धका २१ उजुरी दर्ता भएको कार्यालयले जनाएको छ।




