


सैनिक स्कुलका कोठा सफा गर्न आउने राम मायालाई आग्रह गर्दै सहिद दशरथ चन्दले भनेका थिए ‘मेरा साथीहरुलाई मारेपछि रुने, उनीहरुका आफन्त थुप्रै छन् । तर, मेरा लागि रुने कोही छैन् । त्यसैले मलाई मारेपछि मेरा लागि तिमी राईदेऊ है राम माया ।’
फाँसीको सजाय सुनेको भोलीपल्ट आफ्नै मृत्युमा रोइँदिने मान्छे खोज्ने सहिद दशरथ चन्दले संसार चिहाएको १ सय १८ वर्ष पुगेको छ । १७ असार १९६० मा भुई टेकेका थिए उनले । पश्चिमी सिमान्त जिल्ला बैतडीको बस्कोटबाट संसार चिहाएका दशरथ लप्टन शेरबहादुर र पार्वती चन्दका माईला सन्तान हुन् ।
मातृवात्सल्य नपाएर होला उनलाई मृत्युमा रुवाइँ सहज लाग्ने गरेको थियो । दशरथको बाल्यकाल त्यति सहज रहेन । उनले तेह्र बर्षकै उमेरमा बि.स. १९७३ मा आमा पार्वतीलाई गुमाए । लप्टन बाबु शेरबहादुरले त्यसपछि ३\३ वटा बिहे गरे । बाबुको जागिरे जिन्दगीसँगै चहार्नुप-यो उनले पनि ।
बुवाको सरुवासँगै नेपालगञ्ज, सुर्खेत तिर हुइँकिए उनी पनि । ६ कक्षासम्म बैतडी, नेपालगञ्ज, सुर्खेतमा अध्ययन गरेपछि वि.स. १९७७\७८ तिर उनलाई भारतको अल्मोडास्थित सर गार्सेन रैमजे स्कुलमा भर्ना गरियो । उनले बाल्यकालको केही समय मामाघर भारतको पिथौरागढस्थित अस्कोट–पंक्तोलीमा बिताए ।
आमाको अभाव, लप्टन बाबुसँगको दौढधुप र कडा अनुशासन, अनि वर्षैपच्छिे फेरिने स्कुलका कारण स्कुले प्रेमतिर ढल्किन पाएनन् दशरथले । भनिन्छ ‘मातृवात्सल्यको अभावमा मान्छेको स्वभाव खरो बन्छ ।’ मिजासिला भएपनि दशरथ खरो स्वभावका थिए रे ।
स्कुले उमेर दौढधुपमै बिताएका उनी उच्च शिक्षाका लागि बनारसतिर लागे । बनारस बसाइँका दौरान भारतीय स्वतन्त्रता संग्राममा सहभागी नहुने त कुरै थिएन । गान्धीगिरी मन पराउने भएपनि आक्रामक थिए दशरथ । बनारसबाट आईए पूरा गरेर नेपाल फर्के ।
यस पटकको नेपाल फिराईसँगै उनको जीवन पनि फेरिएको बताइन्छ । एकातिर उनी क्रान्तिकारी बन्दै गएभने अर्कातिर आमाको अभावमा गुमाएको ‘माया, ममता र प्रेम’ जस्ता शब्दसँग नजिक हुन पगे । ‘झर्रा ठकुरी’लाई त्यतिबेला दरबारमै राखेर शिक्षा दीक्षा दिने र आफ्नी छोरीसँग बिहे गराउने राणाहरुको चलन थियो ।
पढेलेखेका र झर्रा ठकुरी दशरथलाई पनि तत्कालिन कमाण्डर ईन चिफ रुद्र शमशेरले दरबारमै राखे । र अध्ययनका लागि त्रिचन्द्र कलेजमा भर्ना गराए । हिन्दी बोल्ने, खद्दरको लुगा लगाउने, मिजासिला दशरथले रुद्र शमशेरकी छोरी जुलियानी मैयाँको मन तान्न बेर लगाएन ।
अनुहार भरीका डण्डीफोरले जुलिया मैयाँलाई असहजिलो बनाएन । दशरथले पत्तै नपाउने गरी मन पराउन थालिन् जुलिया रे । रुद्र शमशेरले बहादुर भवन (हालको निर्वाचन आयोग)मा बस्ने व्यवस्था मिलाएको थियो उनलाई । जुलियानी गौशाला खण्डमा बस्थिन् भने दशरथ पाहुना घरमा । उनको भेटघाट सायदै हुन्थ्यो ।
आँखा जुधाउने समेत मेसो मिल्दैन्थ्यो । गलकोटे राजा भरत बम मल्लले जुलियानीसँग परिचय गराउँदा बोल्न सकेका थिएनन् रे दशरथ । त्यतिबेला दशरथ २८ र जुलियानी १९ वर्षकी थिइन् । दरबार उर्बरभूमि थिएन माया–प्रेमका लागि । लुकिछिपि दरबारका बालबालिका मार्फत चिठ्ठी ओहोरदोहोर गर्थे उनीहरु ।
इतिहासकार पुरुषोत्तम शमशेर जबरा लेख्छन् ‘५–६ वर्षीया बालिका मिनाक्षीदेवी राणा मार्फत चिठ्ठी पठाउथे दशरथ र जुलिया ।’ मिनाक्षी इतिकासकार पुरुषोत्तम शमशेरकी बहिनी हुन् भने पुरुषोत्तम शमशेर, रुद्र शमशेरका नाती हुन् । जुलियानीलाई चिठ्ठी पठाउँदा मिनाक्षीलाई दशरथ भन्ने गर्थे ‘सानो महारानी, यो चिट जुलियानी मैयाँ साहेबलाई दिइबक्स्योस है ।’
दरबारको काँडेतार भित्र झाँङ्गिदै गएको दशरथ–जुलियानीको माया अरुलाई थाहा हुने कुरै भएन । जुलियानी कति माया गर्थिन भन्ने कुरा दशरथलाई पनि पत्तै थिएन । आँखा जुधाउन नपाईने, भेट गर्न नसकिने, टाढाबाट पनि हेर्न नपाउने दरशथलाई दुरबिनबाट खोज्थिन् जुलियानी । दुरबिनमा मात्रै पाउथिन् उनी दशरथलाई ।
जुलियानीले दुरबिनबाट हेरिराख्ने गरेको थाहा पाएका गलकोटे राजा भरत बम मल्लले सुटुक्क दशरथलाई सुनाए । त्ससपछि भने उनको पनि छटपटि सुरु भो । साता दिनपछि गलकोटे राजा भरतले नै दशरथका लागि पनि दुरबिनको व्यवस्था गरेको लेख्छन् ईतिहासकार । अनि सुरु भो दशरथ–जुलियानीको दुरबिन प्रेम ।
दैनिक क्रियाकलाप हेर्न, नियाल्न र सुमसुम्याउन दुरबिनको लेन्समा तान्थे एक अर्कालाई । त्यहि वि.स. १९८९ तिरको कुरा हो । बिहेको पनि कुरा चलेको थियो दरबारमा । दशरथले नै ईश्वर शमशेरलाई प्रस्ताव राखेका थिए बिहेको । ईश्वर तत्कालिन कमाण्डर इन चिफ रुद्र शमशेरका छोरा एवं जुलियानीका दाई हुन् ।
त्यो कुरा दरबारमा पनि पुग्यो । दशरथ अंग्रेजी अखबार पढेर कमाण्ड इन चिफलाई सुनाउने र उनको भाषण लेख्ने गर्थे । दरबारले पनि स्वीकार गरेको लेख्छन् ईतिहासकार पुरुषोत्तम । बिहे गर्ने पनि ठिक्क भएको थियो । दरबारमा जुठो पर्दा त्यो वर्ष रोकिएको बिहे अर्को वर्षपनि हुन पाएन ।

५ चैत १९९० मा ‘सि क्लास’ राणा भनेर रुद्र शमशेरलाई कमाण्डर इन चिफबाट हटाएर चार भञ्ज्याङ्ग कटाए श्री ३ जुद्ध शमशेरले । रुद्र शमशेरको परिवार पाल्पातिर लाग्यो भने दशरथ पनि दरबारबाट बाहिरिए । उनी मामाघर पकनाजोलमा बस्न थाले । श्री ३ को आदेशसँगै दशरथ–जुलियानीको बिहे पनि सदाका लागि पर स-यो ।
श्री ३ जुद्ध शमशेरको आदेशपछि फेरिएको घटना क्रमले दशरथलाई झन राणा शासन विरोधी बनायो । यहि क्रममा उनको भेट टंकप्रसाद आचार्य, धर्मभक्त माथेमा, रामहरी शर्मासँग भयो । र २० जेठ १९९२ मा धर्मभक्तको घरमा गोप्य रुपले ‘नेपाल प्रज्ञा परिषद्’को स्थापना गरे उनीहरुले ।
भूमिगत संगठन प्रज्ञा परिषदको अध्यक्ष टंकप्रसाद आचार्य, उपाध्यक्ष दशरथ र सचिव रामहरी शर्मा भए । २० सदस्यीय समितिका उपनामहरु राखिए । दशरथलाई ‘सेवासिंंह’, टंकप्रसादलाई ‘प्रकाश’, रामहरीलाई ‘हरेराम’ र धर्मभक्तलाई ‘अजब बहादुर’को नामले पुनः न्वारन गरे उनीहरुले नै ।
भारतबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा दशरथ राणा विरोधी लेख प्रकाशित गर्न थाले । सेवासिंहको नामले चर्चित भएपछि फेरी नाम फेरे दशरथले ‘सुशील’ भनेर । यो समय दशरथका लागि कठिन रह्यो । एकातिर जुलियाको मायाले छटपटाउँथ्यो भने अर्कातिर भूमिगत भएर राणा शासन विरोधी गतिविधिमा सक्रिय हुनुपथ्र्यो ।
कहाँ भूमिगत दशरथ, कहाँ सजाय पाएर पाल्पा धपाईएका रुद्र शमशेर । त्यो बेला जुलियानीलाई त परै जावस रुद्र शमशेरलाई भेट्न पनि गाह्रो थियो उनलाई । तैपनि जुलियानीप्रतिको माया कम हुने कुरै भएन । दूरीले छेकेको थिएन दशरथ–जुलियानीको मायालाई ।
दुरबिनले काम नगरेपनि चिठ्ठीले भने काम गथ्र्यो मनका कुरा साँटासाँट गर्न । चिठ्ठी ओहोरदोहोर गर्ने मिनाक्षी नभएपनि ‘साने ड्राईभर’ थिए । पाल्पा दरबार र काठमाडौं ओहोरदोहोर गर्ने साने ड्राईभरले नै दशरथ–जुलियानीका चिठ्ठी बोक्थे गोप्य रुपमा ।
त्यतिबेलाको कमसल र सस्तो खाले ‘लालटिनमार’ चुरोटको बट्टा भित्रको कागजमा प्रेमपत्र लेख्थे दशरथ । साना अक्षरले लेखिएको कागज चुरोट जस्तै बेरेर सुर्ति भरेर त्यही लालटिनमार चुरोटको बट्टाभित्र चुरोटको खिल्लीसंगै राखिन्थ्यो । साने ड्राईभरले कसैलाई चाल नदिएर ओसार्थे चुरोटकोे प्रेम पत्र ।
ठिक्क पारिएको बिहे अनिस्चित बन्नु, दशरथ राणा बिरोधी आन्दोलनमा होमिनु, कहिले भेट समेत नहुनु । अनेकथरी चिन्ताको सिकार बनेकी जुलियानीलाई क्षयरोगले पनि समात्यो । उपचार गरेपनि निको हुन सकेन् र उनको मृत्यु भयो । जुलियानीको मृत्युको खबरले दशरथ पागल जस्तै भएका थिए भन्छन् ईतिहासकार ।
उनले काठमाडौं मामाघरमै जुठो समेत बारेका थिए । दरशथका मामाका छोरा तिलकराज शाहीका अनुसार उनकी सानी आमाले ‘किन जुठो बारेको भनेर समेत सोधेकी थिइन् ।’ दशरथले गोलमटोल जवाफ दिएपनि परिवारजनलाई भने राम्ररी थाहा थियो ।
जुलियानीको मृत्युपछि दशरथ झन राणा शासनप्रति आक्रामक बने । घर परिवारले बिहेको चर्चा गरेपनि उनी बिहेप्रति सकारात्मक बन्नै सकेनन् । जुलियानीे गुमाउनुको पीडा राणा शासन बिरोधी उर्जा बन्न पुग्यो उनका लागि ।
प्रज्ञा परिषदका राणा विरोधी गतिविधि बढ्न थाले । त्यही क्रममा १९९७ जाउलाखेलको भोटो देखाउने दिन राणा शासन बिरोधी पर्चाहरु व्यापक रुपमा छरिए । र दशरथसँगै ५ सय जना पक्राउ परे । ६ माघ १९९७ मा श्री ३ सरकारले फैसला सुनायो फाँसीको ।
दशरथसँगै धर्मभक्त माथेमा, शुक्रराज शात्री र गंगालाल श्रेष्ठलाई सर्वस्वहरणसहित फाँसी, केहीलाई आजन्म काराबास, केहीलाई चार भञ्ज्याङ्ग कटाउने फैसला थियो । फाँसीको फैसला सुनाएर सिहरदरबार लाग्ने बेला उनले अन्य साथीहरुलाई भनेका थिए ‘तुम लोग तो जिएँ हो दोस्त, काम करो । हमतो चलेही जाएँगे लेकिन फिरभी भूत बनकर यिन राणा लोगोको सताएँगे ।’
फैसलाको ८ दिनपछि १४ माघ १९९७ को औसीको रात । आँखामा पट्टी बाँधेर दशरथ र गंगालाललाई शोभा भगवतिमा लगियो । नर शमशेरको नेतृत्वमा टोली खटाईएको थियो । दशरथ र गंगालाई माफि मगाउन चाहन्थे । त्यसैले जल्लादलाई खुट्टामा गोली हान्न लगाइयो । खुट्टामा गोली हानेपछि माफि माग्नु सट्टा गाली गरेर कराउन थाले दरशथ र गंगालाल ।
रिसले चुर भएका नर शमशेरले जल्लादभन्दा अगाडी सरेर आफैले गोली हाँने । ५ गोलीमा दशरथ र गंगालालको इहलिला सकियो । कालो औसीको रातसँगै दशरथको प्राण अन्त गरिएपनि उनको भौतिक शरिर शोभा भगवतिमै थियो । इष्टकोटको एउटा खल्तीमा सेतो रुमाल, अर्को खल्तीमा फाउण्टेन पेन र देब्रे हातमा घडी थियो ।
अनि उनकी प्रियसी जुलियानी मैयाँले दिएको खास्टो उनले नै ओढाई दिए झै ओढेका थिए दशरथले । अन्तिम बेलासम्म पनि जुलियानीको माया संगालेर राखे खास्टोसँगै उनले । फाँसीको सजाय सुनेपछि मृत्यु कुरिराख्दा होस् या मृत्युको अघिका क्षणमा होस् उनलाई भेट्न कोही गएनन् ।
तत्कालिन ८१ लाख ८२ हजार नेपालीलाई जहानिया राणा शासनको पञ्जाबाट मुक्त गर्न बलि चढ्दा पनि उनका लागि रोइँदिने कोही भेटेनन् । त्यसैले त उनले बलि चढ्नु अघि आप्mनै मृत्युमा रोइँदिने मान्छे खोजे किनकी उनको मृत्युमा रुन न उनकी ममतामयी आमा थिइन् न त प्रियसी जुलियानी मैयाँ ।#सि.




