


बैतडी -नेकपा एमालेका दिवंगत नेता तथा संविधानसभा अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको निधनमा नेकपा (एमाले) बैतडीले श्रद्धान्जली सभा आयोजना गरेको छ ।
मंगलबार एमाले पार्टी कार्यालय बैतडीमा श्रद्धान्जली सभा गरिएको हो । पार्टीका जिल्ला उप–सचीव लोकेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय कमिटी सदस्य लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी रहेका भट्टले नेपालको संविधान २०७२ निर्माणको प्रमुख नायकको असामयीक निधनले सिंगो देशलाई अपुरणीय क्षति भएको बताए ।
‘देशी विदेशी शक्तिहरुको दवाव र प्रभावका बिच संविधान जारी गर्नुमा स्वर्गीय नेता नेम्वाङको नेतृत्वदायी भुमिका रहेको थियो, देश परिवर्तनका महत्वपुर्ण अभियानहरुमा उनको विर्सन नसकिने योगदान छ, देशलाई अझै नेम्वाङको आवश्यकता भएका बेला उनको अप्रत्यासीत निधनले एमालेलाई मात्रै नभई सिंगो देशलाई नोक्सान पु¥याएको छ । दिवंगत नेता नेम्वाङ प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्छु ।’उनले भने ।
श्रद्धान्जली सभाका अध्यक्ष भण्डारीले संविधान दिवसको पुर्व संध्यामा दिवंगत नेता नेम्वाङ प्रति श्रद्धासुमन व्यक्त गर्ने कार्यक्रम आयोजना गरिएको बताए । संविधान निर्माणमा मुख्य भुमिका खेलेका नेम्वाङलाई देशले कहिल्यैपनि भुल्न नसक्ने बताए ।
श्रद्धान्जली सभामा पार्टी नेता कार्यकर्ता र सुभेच्छुकहरुको सहभागिता थियो । नेकपा एमालेका उपाध्यक्ष रहेको नेता नेम्वाङको भदौ २६ गते मृत्यु भएको थियो ।




