


फागुन ३० नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवम् पूर्वमन्त्री वीरबहादुर बलायरले सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताउनुभएको छ । नेपाली कांग्रेस डोटीले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत बडीकेदार गाउँपालिकाको खड्यौलीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिममा अहिलेसम्म गठबन्धन नभएको र अबका दिनमा पनि नहुने बताउनुभएको हो ।

नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को गठबन्धन सरकार रहेको सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेससँग गठबन्धनमा नरहेको स्पष्ट पार्दै सभापति बलायरले चुनावमा पनि गठबन्धन नहुने बताउनुभएकाे हाे । माओवादी र एकीकृत समाजवादीले एकातर्फ गठबन्धन भन्ने तर अर्कातर्फ कांग्रेसलाई पेल्ने गरेकाले पनि गठबन्धन नहुने उहाँको जिकिर थियो ।
सुदूरपश्चिममा कांग्रेस एक्लैले बहुमत ल्याएर विजयी हुने दाबी गर्दै उहाँले अघिल्लो चुनावमा बढी मत बदर भएका कारण पार्टीमा डोटीमा सङ्घीय संसदकाे चुनावमा हार बेहाेर्नुपर्काे दाबी गर्नुभयो ।
नेपाली कांग्रेसका नेता कार्यकर्ता र जनताले कुनै पनि हालतमा आफ्नो चुनाव चिह्न ‘रुख’ बाहेक अन्त मत हाल्न नसक्ने उहाँकाे भनाइ छ । बलायरले भन्नुभयो, ‘अन्य ठाउँमा के हुन्छ थाहा छैन, सुदूपश्चिममा गठबन्धन छैन र हुँदैन । कांग्रेसका हातले रुख चुनाव चिह्नबाहेक अन्त भोट हाल्दैन ।’




