


बैतडी -बैतडीको सिगास गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई १ लाख ३६ हजार रुपैया उपलब्ध गराएको छ । आज एक औपचारिक कार्यक्रमकाबीच खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो ।

भलिबल बिजेता टोलीलाई ५४ हजार, एथलेटिक्समा स्वर्ण विजेता ४ जना खेलाडीलाई १० हजारका दरले ४० हजार, भलिबलमा उत्कृष्ट रेमन बिक र एथ्लेटिक्समा उत्कृष्ट देवकी कुमारी धामीलाई जनही ६÷६ हजार, करातेमा रजत विजेता एक जनालाई ६ हजार, एथ्लेटिक्समा कास्य पदक बिजेता ४ जनालाई ४ हजारका दरले १६ हजार र २ जना करातेका कास्य पदक विजेता ४ हजारका दरले ८ हजार गरी १ लाख ३६ हजार रुपैया गाउँपालिकाले उपलब्ध गराएको खेलकुद प्रशिक्षक दिपेन्द्र सिंह धामीले जानकारी दिए । यस पुरस्कार राशीबाट खेलाडीहरुको मनोबल उच्च रहने प्रशिक्षक धामीले बताए । खेल प्रशिक्षक दिपेन्द्र सिंह धामीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
खेलाडीहहरुको अभिभावकत्व ग्रहरण गरेको गाउँपालिका अध्यक्ष हरि सिंह धामीले बताए । रनिङ शिल्ड प्रतियोगितामा निकै प्रसंसनीय प्रदर्शन गरेको बताउदै गाउँपालिका अध्यक्ष धामीले खेलाडी सबैमा बधाई ज्ञापन गरे । खेल क्षेत्रको विकासको लागि गाउँपालिका सक्रिय रहेको पनि उनले अवगत गराए । ‘भौगोलिक रुपमा ठुला खेलकुद आयोजना गर्न चुनौती छ, तैपनि हामि खेलमैदान निर्माण देखि कबर्डहल निर्माणको लागि समेत आन्तरिक तयारीमा छौँ,’ उनले भने ।
मेलौलीमा सम्पन्न १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिगास छात्रतर्फ भलिबलमा च्याम्पियन बनेको थियो भने छात्रातर्फ एथ्लेटिक्समा तृतिय भएको थियो ।




