



बैतडी: बैशाख ५बैतडीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सम्मेलित गठबन्धनको बैठक सकिएको छ । ठोस निष्कर्स भने निस्कन सकेन । तीन वटा पालिकामा अध्यक्ष र उपाध्यक्षको उम्मेद्वार उठाउने बिषयमा टुङ्गो लागेपनि अन्य सात पालिकाको बिषयमा भने ठोस सहमती हुन सकेन । सातवटा पालिकामा पालिकास्तरको परामर्सका आधारमा गठबन्धन गर्ने सहमती भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले जानकारी दिए ।
तीन वटा पालिकामा अध्यक्ष उपाध्यक्षको हकमा सहमती जुटेको छ । डिलाशैनी गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्ष, नेपाली कांग्रेसबाट उपाध्यक्ष, दोगडाकेदारमा अध्यक्ष नेपाली कांग्रेसबाट, उपाध्यक्ष माओवादी केन्द्रबाट र पञ्चेश्वर गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेसबाट र उपाध्यक्षमा एकीकृत समाजवादीबाट उम्मेद्वार उठाउने सहमती भएको छ ।
वडाको हकमा सम्बन्धित पालिकाका नेताहरुको राय अनुसार निर्णय लिइने बताइएको छ । अन्य स्थानिय तहमा गठबन्धनका बिषयमा ठोस निर्णय नहुनु गठबन्धन नगर्ने संकेत बुझिएको छ।




