


बैतडी : जिल्ला अस्पताल बैतडीको ब्यवस्थापन समिति अध्यक्ष भई उत्कृष्ट काम गरेकी पार्वती भट्टको दुई कार्यकाल सफलताका साथ सम्पन्न भएको छ । मंगलबार अस्पताल परिवारले एक कार्यक्रमको आयोजना गर्दै सम्मान सहित भट्टलाई बिदाई गरेको जिल्ला अस्पताल बैतडीका सुचना अधिकारी हरिश पन्तले जानकारी दिए।

२०७६ सालमा कार्यकाल सम्हालेकी भट्टले अस्पतालको विकासमा महत्वपूर्ण योगदान पुर्याएकी छिन । २०७८, २०७९, र २०८० सालमा स्वास्थ्य मन्त्रालयले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धमा अनुगमन तथा मूल्यांकन गर्दा उत्कृष्ट अंकसहित देशकै उत्कृष्ट अस्पताल बनेको थियो। कोरोना समयमा कोरोना परिक्षण गर्न डडेल्धुरा जानुपर्ने र रिपोर्ट आउन हप्तादिन कुर्नुपर्ने बाध्यताको अन्त्य गर्दै पीसीआर ल्याब स्थापना गरिएको थियो । जिल्लामै पीसीआर ल्याब स्थापना भएपछि कोरोना परिक्षण गर्न डडेल्धुरा जानुपर्ने बाध्यताको अन्त्य भएको थियो ।


पहिले ४ जना डाक्टरले सेवा दिईरहेकामा मेरो कार्यकालमा १६ जना डाक्टरले सेवा दिरहेका भट्टले बताईन । अस्पतालमा अहिले हड्डी रोग विशेषज्ञ, गाईनो, स्त्री रोग विशेषज्ञ, डेन्टल सेवा, ओपीडी, जनरल, लगायत ईमर्जेन्सी सेवा संचालनमा रहेका छन् । १५ सय्याको दरबन्दी भएपनि ५० सय्याको सेवा दिइरहेको छ । अस्पतालमा शव बहान, एम्बुलेन्स, अक्सिजन प्लान्ट स्थापना समेत गरिएको छ ।

पार्वती भट्ट एकल महिला हुन । उनले आफ्नो ६ बर्षे कार्यकालमा निस्वार्थ रुपमा उत्कृष्ट काम गर्दै सफल कार्यकाल पुरा गरेकी छिन्।




