


बैतडी : प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिकामा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल भवनको काम सम्पन्न भएसंगै बैतडीको दोगडाकेदार गाउँपालिका १० शय्याको आधारभूत अस्पताल भवनको काम सम्पन्न गर्ने पहिलो पालिका बनेको छ।

दोगडाकेदार गाउँपालिका वडा नम्बर–६ सित्तडमा निर्माण भइरहेको अस्पताल निर्माणको काम सम्पन्न भएको इन्द्र धनु निर्माण सेवाका सञ्चालक राजेन्द्र बहादुर चन्दले बताए। चन्दले १० शय्याको आधारभूत अस्पताल भवनको काम सम्पन्न भएको र गाउँपालिकालाइ हस्तान्तरणको प्रकृयामा रहेको बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट १० शय्याको अस्पताल निर्माणका लागि आवश्यक बजेट र कार्यक्रम प्राप्त भए पछि २०७८ सालको जेठ ३ गते अस्पताल निर्माणको ठेक्का सम्झौता भएको गाँउपालिका अध्यक्ष चक्रबहादुर कार्कीले बताए।स्वास्थ्य सेवा पहिलो प्राथमिकतामा रहेको बताउँदै दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले प्रत्येक नागरिकलाई सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने बताए । नागरिकले गाउँमै सहज र सुलभ रुपमा स्वास्थ्य सेवा दिने लक्ष्य अनुसार स्वास्थ्य सम्बन्धी विभिन्न काम गाउँपालिकाले गरिरहेको उनले जानकारी गराए।
अस्पताल निर्माणको कूल लागत अनुमानित १४ करोड ६८ लाख २९ हजार छ सय ६५ रहेको र ठेक्का सम्झौतामा आठ करोड ५१ लाख ४६ हजार सात सय ३० तोकिएको थियो ।
यसका साथै, दोगडाकेदार अस्पतालका लागि अत्याधुनिक स्वास्थ्य उपकरणको माग गरिएको छ ।
अस्पतालको सञ्चालन र सुविधाका लागि डिजिटल एक्स–रे मेसिन (५०० एमए), युएसजी,उपकरण (कलर डोप्टर), सी बी सी मेसिन, एनालाइजर र माइक्रोस्कोप (सी एक्स ३३ कोलम्पस) जस्ता अत्यावश्यक उपकरणहरूको सूची तयार गरेर स्वास्थ्य सेवा विभागलाई पत्राचार गरिएको भएपनि कुनै प्रतिक्रिया नआएको स्वास्थ्य साखा प्रमुख नरेन्द्र नाथले जानकारी गराए।





