


बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं -७ अन्तर्गत भम्क–रिखाली खानेपानी योजनामा मोबाइल इन्टरनेट बाट पानि चलाउने आधुनिक ‘दुर्गम स्विच’ प्रविधि जडान गरिएको छ। दुर्गम क्षेत्रमा खानेपानी व्यवस्थापनलाई सहज, सुरक्षित र प्रविधिमैत्री बनाउन उक्त प्रविधि प्रयोगमा ल्याइएको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले बताए।

लुना नेटवर्कसँग जोडिएको यस स्मार्ट प्रविधिमार्फत संसारको जुनसुकै कुनाबाट पनि खानेपानीको मोटर मोबाइल एप मार्फत इन्टरनेटको सहायताले सञ्चालन तथा बन्द गर्न सकिने व्यवस्था गरिएको छ। यसले खानेपानी योजनाको सञ्चालन, निगरानी र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
प्रणालीमा QR कोडसमेत राखिएको छ, जसलाई स्क्यान गरेर प्रविधिसम्बन्धी जानकारी लिन सकिने व्यवस्था गरिएको छ। स्थानीयस्तरमा नयाँ प्रविधिको प्रयोगले जनशक्ति अभाव तथा समय व्यवस्थापनमा सहजता ल्याउनुका साथै खानेपानी सेवामा आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको गाउँ पालिका अध्यक्ष कार्किले बताए।
भम्क–रिखाली खानेपानी योजनामा इन्टरनेट बाट पानि चलाउने बन्द गर्ने ‘दुर्गम स्विच’ प्रविधि जडान सफल भएको र अन्य योजनाहरुमा पनि यो प्रविधि जडान गर्नुपनेमा अध्यक्ष कार्किले जोड दिए। बारम्बार खानेपानिको मुहानमा गएर खानेपानिको मोटर चलाउन र बन्द गर्नु पर्ने र चट्याङ लागेर समय समयमा बिग्रिने समस्या अन्त्य भएको र मोबाइलमा इन्टरनेटको माध्यमबाट मोटर चालु र बन्द गर्न सकिने साथै मुहानमा जाने बाध्यता समेत अन्त्य भएको खानेपानि प्राविधिक आँशु चौधरीले बताए।




