


बैतडी, जेठ -१९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडी जिल्ला कार्यसमितिले जेठ २३ गते जिल्ला अधिवेशन आयोजना गर्ने भएको छ।
जिल्ला सभापति भीम नाथद्वारा जारी गरिएको सूचनाअनुसार अधिवेशन बैतडी जिल्लाभित्रका सबै पालिका सभापति, पदाधिकारी, विभागीय प्रमुख तथा अधिवेशन प्रतिनिधिहरूको सहभागितामा सञ्चालन गरिनेछ।

अधिवेशन जेठ २३ गते बिहान ११ बजे पाटन नगरपालिकाको सभाहलमा आयोजना हुने तय गरिएको छ। कार्यक्रममा जिल्लाभरका १० वटै स्थानीय तहका प्रतिनिधिहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ।
रास्वपा बैतडीले अधिवेशनमार्फत नेतृत्व चयन, संगठन सुदृढीकरण, भावी कार्ययोजना तथा पार्टी गतिविधिबारे महत्वपूर्ण छलफल हुने जनाएको छ।
जिल्ला कार्यसमितिले सम्बन्धित सबै प्रतिनिधि तथा पदाधिकारीलाई तोकिएको समय र स्थानमा उपस्थित भई अधिवेशन सफल बनाउन अनुरोध गरेको छ।





