


काठमाडौँ । स्वास्थ्य उपचारपश्चात् बिहीबार स्वदेश फर्कन लागेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने भएका छन् ।

कांग्रेसको संस्थापन इतर (निवर्तमान सभापति देउवा र डा. शेखर कोइराला) समूहले साउन २९ गतेदेखि काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेला तयारी समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा विमानस्थलमा देउवालाई स्वागत गर्न शीर्ष नेताहरू पुग्ने नेता मीन विश्वकर्माले जानकारी दिए ।उहाँ (देउवा)लाई स्वागत गर्न राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेताहरू विमानस्थलमा पुग्नुहुन्छ,’ विश्वकर्माले रातोपाटीसँग भने, ‘निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहितका पूर्वपदाधिकारी, केन्द्रीय सदस्यहरूसहितको ठुलो समूह उहाँको स्वागतका लागि विमानस्थलमा पुग्छौँ ।’विश्वकर्माका अनुसार देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ। लामो समयको उपचारपछि स्वदेश फर्कन लागेका नेता देउवालाई स्वागत भव्य स्वागत गर्ने तयारी कांग्रेसको इतर समूहले गरेको हो ।
गत फागुन १३ गते नेपालबाट स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका देउवा त्यहाँको उपचार सकिएपछि चैत ७ गते थप उपचारका लागि हङकङ पुगेका थिए । देउवा हङकङबाट थाइल्याण्ड पुग्ने र थाइल्याण्डबाटै नेपाल फर्कने कार्यक्रम तय भएको विश्वकर्माले जानकारी दिए ।




