


बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिने भएको छ। दोगडाकेदार गाउँपालिका र गेटा आँखा अस्पताल धनगढीको सहकार्यमा गाँउपालिकामै पहिलो पटक आँखा उपचार केन्द्र स्थापना गरिन लागेको हो।

गाउँमै आँखा उपचार केन्द्र स्थापना भएपछि स्थानीय नागरिकले सहजरुपमा आँखा सम्बन्धी विभिन्न रोगको उपचार पाउने गाउँ पालिका अध्यक्ष चक्रबहादुर कार्किले बताए । आँखाको समान्य समस्याको लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको बताए। समयमै उपचार नपाएर धेरै नागरिक दृष्टिविहीन हुनबाट जोगिने अध्यक्ष कार्किले बताए।
गाउँपालिकामै आँखा सम्बन्धी विभिन्न समस्याहरुको प्राथमिक उपचार सहज रुपमा पाउने भएपछि स्थानीय नागरिक हर्षित भएका छन्। उपचार केन्द्र स्थापनापछि आँखामा समान्य समस्या आउँदा सदरमुकाम वा कैलाली पुग्नुपर्ने बाध्यता हटेको हो। गेटा आँखा अस्पताल धनगढीले उपचार केन्द्रका लागि आवश्यक पर्ने उपकरण, औषधिको व्यवस्था गरेको छ भने गाउँ पालिकाले जनशक्ति र कार्यालयको व्यवस्थापन गरेको छ।
आँखा उपचार केन्द्र दोगडाकेदार गाउँपालिका वडा नं ३मा रहेको श्रीकोट स्वास्थ्यचौकी अन्तरगतकै भवनमा राखिने भएको छ। आज आँखा उपचार केन्द्रको गाउँ पालिका उपाध्यक्ष पार्वती ऐरी कार्किले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।




