


बैतडी -व्यावसायिक घराना आईएमई समूहले सुदूरपश्चिम क्षेत्रको बैतडीमा सिमेन्ट उद्योग खोल्ने भएको छ। केबलकार, वित्तीय संस्था, होटल तथा सेवा क्षेत्रमा समेत लगानी गर्दै आएको समूहले अब सिमेन्ट उद्योगमा पनि लगानी गर्न लागेको हो।बैतडीमा प्रदेश सकारकै अध्ययनले नेपालकै राम्रो चुनढुंगा रहेको निष्कर्ष दिएको थियो। सोही क्षेत्रमा आईएमई समूहले सिमेन्ट उद्योग खोल्न लागेको हो।
विगत तीन दशकदेखि देशको बैंकिङ तथा वित्तीय क्षेत्रमा क्रियाशील रहेको आईएमई समूहले आईएमई ब्राण्डमा सिमेन्ट उद्योग स्थापना गर्न लागेको हो।

रेमिट कम्पनीबाट व्यावसायिक यात्रा सुरु गरेको आईएमई समूहले बैंकिङ, बीमा, केबलकार, होटल, अनलाइन पेमेन्ट सिस्टम, अटोमोबाइल्स, हाइड्रोपावरलगायतका क्षेत्रमा काम गर्दै आएको छ।
त्यही अध्ययनपछि नै बैतडीमा सिमेन्ट उद्योगको चर्चा सुरु भएको थियो। बैतडीमा उत्पादन भएको सिमेन्ट नेपाली बजारमा मात्रै नभएर नजिकै रहेका धार्चुला र झुलाघाट नाकाबाट भारत पठाउन सकिने भएकाले बजारको पनि समस्या नहुनेसमेत अध्यक्ष ढकालले बताए।
‘सीमावर्ती भारतीय राज्यमा सिमेन्टको ठूलो बजार रहेकाले यसबाट पर्याप्त विदेशी मुद्रा आर्जन गर्न सकिन्छ,’ अध्यक्ष ढकालले भने।
‘भविष्यमा सिमेन्टको माग बढ्ने अनुमान गरेपछि हामीले सिमेन्ट उद्योगमा लाग्ने निर्णय गरेका हौँ,’ ढकालले भने। ‘स्थानीय सरकारले पूर्वाधार विकासमा ध्यान दिने भएकाले आगामी वर्षहरूमा सिमेन्टको माग ह्वात्तै बढ्नेछ।’ समूहले चार वर्षभित्रै उद्योग स्थापना गरेर भारततर्फ अर्बौं रुपैयाँको सिमेन्ट निर्यात गराउने योजना रहेको छ। #BiznessNews




