


बैतडी -बैतडीका बजार क्षेत्रमा पिजी ब्राण्डको पानीमा लेउ भेटिएको छ । खोडपे बजारको एक पसलमा पीजी कम्पनीको पानीमा लेउ भेटिएको व्यापारीहरुले बताएका छन् ।
पिजी ब्राण्डको पानीका बोतलहरुमा केही समयअघि पनि यस्तो समस्या भेटिएको थियो । कम्पनीले लेउ जमेको अवस्थाका करिब ५ सय कार्टुन बजारमा पठाएको बुझिएको छ । त्यसपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले त्यस्ता कार्टुनहरु तुरन्तै फिर्ता गर्न भनेको थियो ।

कम्पनीबाट एक लटमा उठाएका सबै कार्टुनमा लेउ जमेको पानी बजारमा गएको पिजी कम्पनीका सञ्चालक राज बहादुर खड्काले स्वीकार गरेका छन् । लेउ जमेका सबै कार्टुनहरु फिर्ता गर्ने उनले बताएका छन् । तर पनि बजारमा भने अझैपनि लेउ जमेको पानी भेटिरहेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले पनि लेउ भेटिएका पानीको अनुमगन गरेको थियो भने नमुना पनि संकलन गरेको छ । खोडपे बजारबाट पीजी पानीमा लेउ रहेको जानकारी पाएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख ललित कठायत खोडपे पुगेर नमुना संकलन गरेका हुन् ।
खाद्य ऐन अनुसार नमुना संकलन गरेर केन्द्रिय प्रयोगशालामा पठाइने कार्यालय प्रमुख कठायतले बताए । नमुना जाँचपश्चात आउने रिर्पेटको आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएने उनले बताए ।
‘पीजी’ कम्पनीका केन्द्रिय कार्यालय कैलालीमा रहेकाले यहाँका सबै फाइलहरु क्षेत्रिय कार्यालय धनगढी पठाइने र त्यसपछि आवश्यक प्रक्रिया अघी बढ्ने उनले बताए ।




