
प्रधानमन्त्रीमा ओलीको दाबी, ‘आइतबार नियुक्ति र शपथ’
राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान गरेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर शीतल निवास पुगेका एमाले अध्यक्ष ओलीले प्रस्तुत गरे १६६ सांसदको समर्थन



काठमाडौँ —प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहालले संसद्बाट विश्वासको मत नपाएर पदमुक्त भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि गरेको आह्वानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दाबी पेस गरेका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेलगत्तै एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर शीतल निवास पुगी प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् । ओलीले संसद्को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७८ गरी १६६ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । एमालेका ७९ मध्ये एक सांसद निलम्बित छन् । ७८ मध्ये गणनामा १ सिट सभामुखको पनि गनिएको छ । शीतल निवास स्रोतका अनुसार आइतबार प्रधानमन्त्रीमा ओली नियुक्ति हुनेछन् भने साँझ शपथग्रहण हुनेछ । शपथसँगै कांग्रेस–एमालेले सानो मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पनि राष्ट्रपतिले दिएको समयसीमाभित्रै प्रधानमन्त्री नियुक्ति र लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताए । ‘यस पटक मन्त्रालय बाँडफाँटमा कुनै झमेला छैन । अधिकांश बाँडफाँट टुंगिसकेको छ, बाँकी शनिबारसम्म टुंग्याउँछौं,’ लेखकले भने । एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौर्लाले दाबी पेस भएपछि कतिबेला प्रधानमन्त्री नियुक्ति गर्ने भन्ने कुरा राष्ट्रपतिको स्वविवेकमा भर पर्ने बताए । ‘कांग्रेस र एमालेको बहुमत हस्ताक्षरसहित दाबी पेस गरिएको छ । प्रधानमन्त्री नियुक्ति कहिले र कुन समयमा गर्ने भन्ने कुरा उहाँको जिम्मेवारीभित्रको काम हो,’ बर्तौलाले भने । उता कामचलाउ हैसियतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल भने शुक्रबार नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर खुमलटार सरेका छन् । राष्ट्रपति पौडेलले सरकार निर्माणका लागि तीन दिनको समयसीमा तोकेर दाबी पेस गर्न आह्वान गरेपछि कांग्रेस र एमालेका बहुमत सांसदको हस्ताक्षरसहित ओली सहयोगी दलका नेतासहित प्रधानमन्त्रीको दाबी पेस गर्न सवा ९ बजे शीतल निवास पुगेका गरेका थिए ।
शीतल निवासमा दाबी पेस गर्न ओलीका साथमा कांग्रेस सभापति शेरबहादुर देउवासँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्का उपाध्यक्ष विष्णु पौडेल, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी थिए ।



