


काठमाडौं:अन्तरिम सरकार गठनसँगै सुरक्षा स्थिति सहज हुँदै गएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक अरू सबै नेता शिवपुरीको सैनिक तालिम केन्द्रबाट फर्किएका छन्।
जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते प्रदर्शनकारीहरूले नेताहरूका घर तोडफोड गर्न थालेपछि ओली लगायत तत्कालीन मन्त्री र शीर्ष नेताहरूलाई सुरक्षा निम्ति शिवपुरी लगेर राखिएको थियो।

हामीले ओली सरकारको मन्त्रिपरिषदमा रहेका केही मन्त्रीसँग उनीहरूको अवस्था बुझ्न सोमबार राति फोन गर्दा उनीहरूले शिवपुरीमा ओली मात्र बाँकी रहेको बताए। बाँकी सबै पूर्वमन्त्री र शीर्ष नेताहरू फर्किसकेको उनीहरूले जानकारी दिए।
शिवपुरीबाट फर्के पनि उनीहरू घर जान पाएका छैनन्। सबैजसो पूर्वमन्त्री र शीर्ष नेताका घरमा आगजनी र तोडफोड गरिएकाले बस्न सक्ने अवस्था छैन। त्यसैले उनीहरू शिवपुरीबाट फर्केर आफ्ना आफन्त वा साथीभाइका घरमा आश्रय लिएर बसेको पाइएको छ।
भदौ २४ को घटनापछि निवर्तमान प्रधानमन्त्री ओलीसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत पूर्वमन्त्रीहरूलाई शिवपुरी सैनिक तालिम केन्द्रमा राखिएको थियो।
स्रोतका अनुसार प्रचण्ड र नेपाललाई सिंहदरबारबाट हेलिकप्टरमा शिवपुरी लगिएको थियो।




