


महेन्द्रनगर:जेनजी प्रदर्शनका क्रममा शुक्लाफाँटा नगरपालिकाले पनि आर्थिक क्षति बेहोर्नुपरेको छ। तोडफोड र आगजनीका कारण नगरपालिकासहित वडास्तरका कार्यालयमा तीन करोड २५ लाख एक हजार ५५ बराबरको क्षति पुगेको हो।नगरपालिकाको मुख्य प्रशासनिक भवन जोगाउन सफल भएको प्रवक्ता लालबहादुर ऐरले बताए। नगरपालिकाको जिन्सी शाखाका प्रमुख कृष्ण कार्कीका अनुसार सबैभन्दा बढी क्षति वडा नं ८ मा देखिएको छ। जहाँ मात्रै ५५ लाख ९६ हजार ८७१ बराबरको सम्पत्ति, कागजपत्र, फर्निचर, कम्प्युटर, अभिलेखलगायत नष्ट भएको छ।

यसैगरी, वडा नं १ मा ४६ लाख ७४ हजार ९५९, वडा नं ७ मा ४५ लाख तीन हजार ७२, वडा नं ३ मा २५ लाख १० हजार ४९४ र वडा नं ५ मा २३ लाख १० हजार सात सय ७१ बराबरको क्षति भएको छ।
अन्य वडामा पनि लाखौँको क्षति भएको छ। वडा नं ६ मा १८ लाख ८७ हजार ८१४, वडा नं १२ मा १५ लाख ५१ हजार ४९६, वडा नं २ मा १५ लाख ७३ हजार १४९, वडा नं ९ मा १५ लाख २२ हजार ५९१, वडा नं ४ मा १५ लाख १२ हजार ७८, वडा नं ११ मा १३ लाख ४३ हजार ५८९ र वडा नं १० मा सात लाख ४७ हजार ६८२ बराबरको क्षति पुगेको नगरपालिकाले सङ्कलन गरेको क्षतिको विवरणमा उल्लेख गरिएको छ।
कार्यालय भवन, फर्निचर, कम्प्युटर तथा अभिलेख तोडफोड र आगजनीबाट ध्वस्त भएपछि तत्काल वडाबाट सेवा प्रवाह पूर्णरूपमा अवरुद्ध भएको छ। हाल अस्थायी रूपमा मुख्य कार्यालयमार्फत वडास्तरका सेवा दिन सुरु गरिएको भए पनि स्रोत साधनको अभावले सेवाग्राहीलाई समयमा सेवा पु¥याउन कठिनाइ भइरहेको जनप्रतिनिधिहरूको भनाई रहेको छ।




