Vutlaxapu
Laxmibhuwan sun chadi

कडा प्रावधानसहित गण्डकीमा गाँजा खेती खुला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

गण्डकीमा ‘औषधियजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण भएसँगै गाँजा खेतीले औपचारिक रूपमा कानुनी मान्यता पाएको छ।

विधेयकमा उल्लेखित मापदण्ड पूरा गर्ने किसान वा व्यावसायिक फर्मले अब कानुनी रूपमा गाँजाखेती गर्न पाउने भएका छन्। यसरी गरिएको खेतीबाट औषधीयजन्य पदार्थ तथा औद्योगिक कच्चा पदार्थ उत्पादन गर्न सकिनेछ।

लागुऔषधजन्य पदार्थका रूपमा प्रयोग हुन सक्ने अंश भने तोकिएका अधिकारीको रोहबरमा नष्ट गर्नुपर्ने व्यवस्था विधेयकले गरेको छ।

गाँजा खेती गर्न किसानले पूर्वसहमति लिनुपर्ने प्रावधान छ। पूर्वसहमति लिँदा खेती गर्न चाहेको अधिकतम क्षेत्रफल खुलाउनुपर्नेछ। दुई रोपनीभन्दा कम क्षेत्रफलमा गाँजाखेती गर्न अनुमति नदिने व्यवस्था गरिएको छ।

पूर्वसहमति प्राप्त भएपछि खेती गर्न चाहेको स्थान र क्षेत्रफल निर्धारण गरी आवश्यक पूर्वाधार तयार गर्नुपर्नेछ। स्थानीय तहको सिफारिससहित अनुमति माग्दा किसानले गाँजा खेतीको उद्देश्य स्पष्ट खुलाउनुपर्नेछ। साथै उत्पादन हुने गाँजाजन्य पदार्थको परिमाण पनि उल्लेख गर्नुपर्नेछ।

किसान वा फर्मले दिएको निवेदनका आधारमा आवश्यक जाँचबुझ गरी पूर्वसहमति पत्र दिने व्यवस्था विधेयकमा गरिएको छ। पूर्वसहमति लिएको एक वर्षभित्र आवश्यक पूर्वाधार तयार नगरेमा सहमति पत्र स्वतः अमान्य हुनेछ।

पूर्वाधार निर्माण सम्पन्न भएपछि मात्र खेतीको अनुमति प्रदान गरिनेछ। अनुमति दिँदा उत्पादित गाँजाजन्य पदार्थ खरिद हुने सुनिश्चित गर्न औषधि उद्योग वा उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगसँग भएको सम्झौतापत्रको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ।

विधेयकले गाँजा खेती गर्न चाहने व्यक्तिले पछिल्लो १० वर्षमा कुनै पनि लागुऔषधसम्बन्धी कसुरमा सजाय नपाएको स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ।

लागुऔषधसम्बन्धी कसुरमा सजाय पाएका व्यक्तिले गाँजा खेती गर्न नपाउने उल्लेख गरिएको छ। गाँजाको बोट वयस्क भएपछि कटान वा फसल संकलन गर्नुअघि किसानले निरीक्षकलाई जानकारी गराउनुपर्नेछ। निरीक्षक वा सम्बन्धित कर्मचारीले स्थलगत अनुगमन गरेपछि मात्र बोट कटान र फसल संकलनको अनुमति दिने व्यवस्था छ। कटान गर्दा मुचुल्का तयार गर्नुपर्ने पनि विधेयकमा उल्लेख गरिएको छ।

गाँजा खेतीको अनुमति, नियमन र अनुगमनका लागि प्रदेशस्तरमा मुख्यमन्त्रीको अध्यक्षतामा निर्देशक समिति गठन गरिनेछ। समितिमा कृषि, स्वास्थ्य, उद्योग तथा वन मन्त्री सदस्य रहनेछन्।

प्रदेशका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तथा प्रदेश प्रहरी प्रमुख पनि सदस्य रहनेछन्। निर्देशक समितिको सदस्य–सचिव रहनेछन्। निर्देशक नवौँ वा दशौँ तहका कर्मचारी हुने व्यवस्था गरिएको छ।

जय भगवति मेलौली सुनचाँदी

गाँजाखेतीको नियमनका लागि अधिकृत सातौँ तहका कर्मचारीलाई निरीक्षक तोकिने व्यवस्था पनि गरिएको छ। यसका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत ‘गाँजाखेती नियमन तथा व्यवस्थापन इकाइ’ गठन गरिनेछ।

आवश्यक निरीक्षकका लागि नेपाल सरकारसँग नेपाल प्रहरीका अधिकृत तहका कर्मचारी माग गर्न सकिने व्यवस्था विधेयकमा छ। स्थानीय स्तरमा गाँजाखेतीको नियमन गर्न वडाध्यक्षको संयोजकत्वमा ‘स्थानीय निगरानी समिति’ गठन गरिनेछ। समितिमा नजिकको प्रहरी कार्यालयका प्रतिनिधि, पालिकाको कृषि शाखा प्रमुख, समाजसेवीमध्ये एक महिलासहित दुई जना, एक जना कृषक प्रतिनिधि तथा वडा सचिव सदस्य–सचिव रहनेछन्।

फसल भित्र्याउँदा निरीक्षकको स्थलगत उपस्थितिमा बोट कटान गर्नुपर्नेछ। गाँजा भित्र्याउँदा स्थानीय निगरानी समितिको रोहबरमा मुचुल्का तयार गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। विधेयकअनुसार गाँजाखेतीबाट उत्पादित औषधीय वा औद्योगिक प्रयोजनका सामग्री खरिद–बिक्री तथा ओसारपसार गर्दा बोरा, बाकस वा थैली निरीक्षकले सिलबन्दी गरेपछि मात्र गर्न पाइनेछ।

उत्पादित गाँजाबाट लागुऔषधका रूपमा प्रयोग हुन सक्ने पदार्थ नष्ट गर्नुपर्नेछ। नष्ट गरिएको लागुऔषधजन्य पदार्थको विवरणसहित मुचुल्का तयार गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

प्रदेश सरकारले जारी गरेको कानुनविपरीत गाँजाखेती गरेमा सजायको व्यवस्था गरिएको छ। निरीक्षकको प्रतिवेदनका आधारमा कसुरको प्रकृति हेरी ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सकिनेछ। मानव स्वास्थ्यमा असर गर्ने गाँजाको प्रजातिमा रोक लगाउन सकिने तथा गाँजाखेतीबाट भएको आम्दानीमा कृषि आयका रूपमा कर तिर्नुपर्ने व्यवस्था पनि विधेयकमा छ।

गण्डकी सरकारले ल्याएको यो विधेयक संघीय ‘लागुऔषध नियन्त्रण ऐन, २०३३’ सँग बाझिएको भन्दै प्रदेश प्रमुख डिल्लीराज भट्टले पुनर्विचारका लागि प्रदेश सभामा फिर्ता पठाएका थिए। प्रदेश सभाले दोस्रो पटक हुबहु पारित गरेपछि प्रदेश प्रमुख भट्टले सोमबार विधेयक प्रमाणीकरण गरेका हुन्।

विधेयक प्रमाणीकरण भएसँगै गण्डकीमा कानुनको प्रावधान पालना गरेर गाँजाखेती गर्न बाटो खुलेको प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले बताए।

‘गण्डकी प्रदेशमा कानुनको प्रावधानभित्र रहेर अब गाँजाखेती खुला भएको छ,’ उनले भने, ‘औषधीय र औद्योगिक प्रयोगका लागि अब गाँजाखेती गर्न पाइन्छ।’

प्रदेशले बनाएको गाँजा विधेयक संघीय ‘लागुऔषध नियन्त्रण ऐन, २०३३’सँग नबाझिएको पनि उनले दाबी गरे। उनका अनुसार उक्त ऐनले गाँजालाई पूर्ण रूपमा प्रतिबन्धित नगरी नियमन गर्ने व्यवस्था गरेको छ, त्यसैले नियमनभित्र रहेर उत्पादन गर्न सकिन्छ। संयुक्त राष्ट्रसंघले गाँजालाई लागुऔषधको सूचीबाट हटाएको र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि यसको बहुउपयोगी सम्भावनालाई स्वीकार गरेको उल्लेख गर्दै शर्माले संसारका धेरै देशले गाँजाको बहुउपयोगबाट आर्थिक लाभ लिइरहेको बताए।

संविधानको अनुसूचीअनुसार कृषि विकास प्रदेशको एकल अधिकारभित्र पर्ने भएकाले कृषि उत्पादनका रूपमा गण्डकी प्रदेशले गाँजाखेतीलाई वैधानिकता दिएको उनको भनाइ छ।

‘लागुऔषध नियन्त्रण ऐनले गाँजालाई प्रतिबन्धित होइन, नियमन गर्न सकिन्छ भनेको छ। यसलाई लागुऔषधका रूपमा होइन, औषधीय र औद्योगिक प्रयोजनका लागि उत्पादन गर्न प्रदेशले खुला गरेको हो,’ उनले भने, ‘संविधानअनुसार कृषि प्रदेशको एकल अधिकार भएकाले गण्डकीले कृषि उत्पादनका लागि गाँजाखेती खुला गरेको हो। यो संघीय कानुनसँग बाझिएको छैन।’

प्रदेशमा खेती नभएका जमिन, बाँदरको समस्या भएका क्षेत्र, सिँचाइ अभाव भएका स्थानलगायतमा गाँजाखेतीको सम्भावना प्रचुर रहेको पनि शर्माले बताए। संघीय लागुऔषध नियन्त्रण ऐनमै पश्चिम पहाडमा नियम बनाएर गाँजाखेती खुला गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै उनले गण्डकीको भूगोल गाँजाखेतीका लागि उपयुक्त भएको बताए।

गाँजाखेती गर्न चाहने किसान वा फर्मले कानुनको सीमाभित्र रहेर मात्रै खेती गर्नुपर्छ,’ उनले भने, ‘लागुऔषधजन्य पदार्थ उत्पादन गर्न पाइँदैन।’

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page