


बैतडी -निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ । सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो प्रस्ताव अघि सारिएको बताएका हुन् ।

उनले चुनावमा मतदातालाई अनेकौं प्रलोभन पार्ने तथा सांसदहरुले नै निर्वाचन लड्न कठिन भएको गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्नेगरी प्रचार प्रसारका लागि २५ जना मात्रै जान मिल्ने आचारसंहिता ल्याउने प्रस्ताव गरिएको बताए । निर्वाचनमा उम्मेदवार नभएको राजनीतिक दलको चुनाव चिह्न मतपत्रमा समावेश नगर्ने तयारी रहेको पनि आयोगले जनाएको छ ।
सञ्चारकर्मीहरूले निर्वाचनमा उम्मेदवार लिएका राजनीतिक दलको मात्रै चुनाव चिन्ह मतपत्रमा समावेश गर्ने विषयमा गठबन्धन लक्षित देखियो भन्ने प्रश्नको जवाफमा प्रवक्ता पौडेलले निर्वाचनमा भाग नलिएको दलको चुनाव चिन्ह राख्नु सौद्धान्तिक र व्यवहारिक रुपमा ठिक नभएको बताए ।




